९२ अर्ब पुनर्कर्जा स्वीकृत, ५२ अर्ब रुपैयाँ अगामी साताभित्रै निकासा हुने

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताएका छन् ।

राष्ट्र बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पत्रकारसँग अन्तरक्रिया कार्यक्रम बोल्दै गभर्नर अधिकारीले तरलता अभाव हुनुको प्रमुख कारण उच्च आयात भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले तरलता हटाउन काम भइरहेको तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट पारे ।

आयातका लागि ठूलो रकम वृद्धि भएर फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन नहुँदा बजारमा तरलता अभाव भएको बताए । आयात बढे अनुसार आयातलाई गएको रकमलाई परिपूर्ण गर्ने अन्य स्रोतहरू नहुँदा तरलताको समस्या सृजना भएको गभर्नर अधिकारीले बताए ।

चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत दुई हजार पाँच सय अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत दुई सय २० अर्ब र सोझै खरिद गरेर २७ अर्ब रुपैयाँ प्रवाह भएको बताए ।

पुनर्कर्जा सुविधा ९२ अर्ब रुपैयाँ स्वीकृत भइसकेको, पालिकाको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपका रूपमा गणना गर्न पाउने व्यवस्था गरेको तथा ब्याज दर केही बढेकाले निक्षेप सङ्कलनमा वृद्धि भइ कर्जाको मागमा कमी आउने उनको भनाई थियो ।

जसमध्ये ५२ अर्ब रुपैयाँ अगामी साताभित्रै निकासा हुने र ४० अर्ब यही महिनाभित्र निकास हुने उनले बताए । त्यसबाहेक पनि १२ अर्ब रुपैयाँ ग्राहक ऋणीलाई दिने पुर्नकर्जा स्वीकृत भएर निकास भएको उनले बताए ।

राष्ट्र बैंकका अनुसार ५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ । त्यस्तै राष्ट्र बैंकले सेयर बजार प्रति सकारात्मक रहेको पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here