८ प्रतिशत घरधुरी टुकी बत्तीकै भरमा, तीन जिल्ला केन्द्रीय प्रसारणको पहुँचबाहिर

काठमाडौं, १ फागुन । देशका ८ प्रतिशत घरधुरी अझै टुकी बत्तीकै भरमा रहेका छन् ।

राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या ९२ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

अन्यले भने सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा उपलब्ध गराउँदै आएको सौर्य, लघु जलविद्युत्ल, टुकी बत्ती लगायतमार्फत विद्युतको प्रयोग गर्दै आएका छन् ।

डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ती जिल्लामा बिजुली उपलब्ध गराउन कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर प्राधिकरणले काम गरिरहेको छ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार पुगेको छ ।

त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिकतर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा नै प्राधिकरणको ग्राहक सङ्ख्यामा एक लाख १२ हजार थप भएको छ । गत असार मसान्तमा कुल ग्राहक सङ्ख्या ५१ लाखको हाराहारीमा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पछिल्लो ६ महिनामा बिजुलीको उपभोग गर्ने ग्राहकको सङ्ख्याका अलावा विद्युत् खपतसमेत वृद्धि भएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कार्यकारी निर्देशक घिसिङले गत पुस मसान्तसम्म प्रतिव्यक्ति विद्युत् खपत ३२५ किलोवाट पुगेको छ । उनका अनुसार पछिल्लो ६ महिनामा देशभर थप ३०० मेगावाट थप बिजुली खपत भएको छ ।

प्राधिकरणको केन्द्रीय प्रणालीमा हाल २ हजार १३२ मेगावाट बराबरको बिजुली उपलब्ध छ । प्राधिकरणको यस अवधिमा कुल ४२.५२ प्रतिशत वित्तीय प्रगति भएको छ भने भौतिक प्रगति ४७.३८ प्रतिशत छ । तर यो लक्ष्यभन्दा कम हो । प्राधिकरणले चालु आवको ६ महिनामा ६४.३३ प्रतिशत वित्तीय प्रगति र ५९.६३ प्रतिशत भौतिक प्रगति हुने प्रक्षेपण गरेको थियो ।

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत २०७९ भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पुर्‍याउने उद्देश्यसहित केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लामा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युत पुर्‍याउने लक्ष्य राखेको छ।

ग्रिड पुर्‍याउन सम्भव नहुने ठाउँहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा देशका विभिन्न ठाउँमा सौर्य तथा वायु मिनीग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here