वार्षिक दुई लाख बढीले गर्छन् गर्भपतन, अधिकांश अनिच्छित गर्भाधारण

काठमाडौं, ७ वैशाख । गर्भपतनलाई सरकारले कानुनी मान्यता दिए पनि गर्भपतन गराउने औषधिको जथाभावी प्रयोगका कारण धेरै महिलाको ज्यान जोखिममा रहेको छ ।

असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ ।

गर्भपतनका औषधि सहज रूपमा उपलब्ध हुने भएकाले पनि आकस्मिक गर्भपतन गराउने युवतीको संख्या बढेको हो । खासगरी सहरदेखि गाउँसम्मै गर्भपतन गराउनेको संख्या बढिरहेको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले गएको मार्च ३० मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा नेपालमा ४३ प्रतिशत महिलाले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको पाइएको छ ।

जसमा ४४ प्रतिशतले आधुनिक र सुरक्षित साधन प्रयोग नगरेको र प्रजनन उमेरका २४ प्रतिशत महिला परिवार नियोजनका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारणमध्ये झण्डै आधा अनिच्छत गर्भ रहने गरेको र त्यसमध्ये करिब दुईतिहाइले गर्भपतन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनका अनुसार, विश्वमा गर्भधारणको चाहना नभएर पनि अनुमानित २५ करोड ७० लाख महिलाहरू परिवार नियोजनका सुरक्षित र आधुनिक तरीकाहरू प्रयोग गर्दैनन् भने झण्डै एक चौथाइ विवाहित महिलाहरू यौन प्रस्तावलाई नकार्न सक्दैनन्।

‘नेपालमा अधिकांश अनिच्छित गर्भाधारण परिवार नियोजनका आधुनिक सामग्रीको पूरा हुन नसकेको मागको परिणाम हो, जसका कारण गर्भधारण गर्न नचाहने लगभग ४४ प्रतिशत प्रजनन उमेरका महिलाहरू परिवार नियोजनका आधुनिक विधि प्रयोग गरिरहेका छैनन्,’ उक्त प्रतिवेदनमा भनिएको छ।

यूनएनएफपीएले सन् २०१७ को तथ्यांकलाई आधार मानेर वार्षिक १२ लाख गर्भधारण भएको मध्ये अनिच्छित गर्भका कारण तीन लाख ५८ हजारले गर्भपतन गराएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here