९ महिनामा २६ अर्बको तरकारी आयात, ४१ प्रतिशत भारतसँगै निर्भर

काठमाडौं, ८ वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा २६ अर्ब बढीको तरकारी जन्य उत्पादन आयात भएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार (साउन-चैत) चैत मसान्त सम्ममा २६ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको ६२ करोड ४५ लाख ९९ हजार केजी तरकारी आयात भएको छ ।

गत आर्थिक वर्षमा मात्र ३८ अर्ब ५० करोड रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । ८६ करोड ६५ लाख केजी तरकारी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

जसमा सबैभन्दा धेरै तरकारी छिमेकी देश भारतबाट आयात भएको छ । भारत र चीनबाट समेत वर्षेनी टनकाटन तरकारी आयात हुने गरेको छ ।

भारतबाट मात्र कालिमाटी बजारमा ४१ प्रतिशत तरकारी आयात हुने गरेको छ । चीनबाट १.२९ प्रतिशत तरकारी आयात हुने गरेको छ ।

मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो ।

यस अवधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय खेतीयोग्य जमिन घरघडेरीमा प्रयोजन हुन थालेपछि तरकारी उत्पादन कमी हुने गरेको छ । मुलुकमा भित्रिने रेमिट्यान्सको प्रभावले परनिर्भरता बढ्दै गएको कृषि विज्ञको भनाइ छ ।

कृषिमा पर्याप्त अनुदान नहुनु, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्नु र किसानलाई पर्याप्त तालिम दिन नसक्दा नेपाली किसानले मागअनुसार तरकारीको उत्पादन गर्न सकेका छैनन् ।

त्यस्तै सिजनमा धेरै तरकारी उत्पादन भए पनि कोल्डस्टोरको अभावले गर्दा भण्डारण गरेर राख्न नसक्ने समस्या किसानले खेप्नुपरेको व्यवसायीहरू बताउँछन् ।

कृषक तथा व्यापारीले तरकारी कुहिने डरले उत्पादन हुनासाथ बिक्री गरिहाल्नुपर्ने बाध्यता छ । मुलुकमा करोडौंको तरकारी बाहिरबाट आयात भइरहँदा पहाडी जिल्लामा उत्पादित तरकारीको उपयोग हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here