मौन अवधिमा के-के गर्न पाइँदैन ? उल्लंघन गरे उम्मेदवारी रद्द

काठमाडौं । मंगलवार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन। मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ। यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ।

मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन। आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदै छ। निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो। मौन अवधिभर दल, तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला\गोष्ठी आयोजना गर्न पाउने छैनन्।

यो निर्वाचन आयोगको आचरण निर्देशिकामा उल्लेख छ। निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

खटिए ‘सूक्ष्म अनुगमनकर्ता’, उम्मेदवारी रद्दसमेत हुनसक्ने

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन भएनभएको कडाइका साथ अनुगमन गरिने जानकारी दिए । मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुन सक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना संकलकका रूपमा सयभन्दा बढी स्थानमा ‘सूक्ष्म अनुगमनकर्ता’ खटाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था छ । त्यसैलाई टेकेर आयोगले ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरेको छ । ऐनको उपदफा ३ मा ‘आयोगले दिएको आदेशबमोजिम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

उपदफा २ मा निर्वाचन उल्लंघनसम्बन्धी उजुरीको छानबिनका क्रममा ‘जाँचबुझ एवं अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिए त्यस्तो कार्य तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने’ उल्लेख छ ।

तथ्यहीन सामग्री सम्प्रेषण गर्न पनि नपाइने आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here