अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने, जारको पानी बेच्न मापदण्ड

काठमाडौं । फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ ।

मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनेको हो ।

खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा विक्री गर्न वा विक्रीको लागी राख्न निषेध गरिएको हो ।

साथै व्यावसायिक रूपमा फलफूल पकाउने व्यवसायीहरूले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधि अनुरूप मात्र पाउने भएका छन् ।

व्यवसायिक रुपमा फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको छ ।

विभागले आँप लगायतका सिजनल फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

यसका साथै फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेर मात्र उपभोग गर्न पनि उपभोक्तामा आग्रह गरेको छ ।

त्यस्तै सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो।

डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी भएको पानी मात्रै पिउन भनेको हो। खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री वितरण गरेको जानकारी भएमा विभागलाई सूचना दिन नागरिकलाई आग्रह गरेको छ। मापदण्डविपरीतको पानी पाइएमा कारबाही समेत हुने विभागले बताएको छ।

आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भए/नभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।

वर्षायाममा पानीका कारण हैजा, झाडापखालाजस्ता सरुवा रोग फैलने भएकाले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा सफा र स्वस्थ खानेकुरा खान विभागको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here