रेमिट्यान्स् वृद्धिदर घट्दो, एघार महिनामा ८ खर्ब रेमिट्यान्स

काठमाडौं ४, साउन । गत आर्थिक वर्षको ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे १७ प्रतिशतले बढेको छ ।

रेमिट्यान्स आप्रवाह बढेको देखिए पनि पछिल्ला महिनामा त्यसको वृद्धिदर घट्दो छ । अघिल्लो महिनामा करिब १९ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर जेठमा साढे १७ प्रतिशतमा झरेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ खर्ब ७९ अर्ब रुपैयाँ थियो ।

अमेरिकी डलरमा व्यक्त गर्दा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षका पहिला महिनाहरुमा रेमिट्यान्स वृद्धिदर ३० प्रतिशतभन्दा बढी थियो । यो क्रम निरन्तर बढदै जाँदा करिब ३७ प्रतिशतसम्म रेमिट्यान्स वृद्धिदर पुगेको थियो ।

त्यतिबेला अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएकाले रेमिट्यान्स वृद्धिदर पनि बढेको थियो । डलर कमजोर भएसँगै रेमिट्यान्स वृद्धिदर पनि निरन्तर घट्दो छ ।

पछिल्ला वर्षमा रोजगारीका लागि विदेशीने नेपाली पनि घटदै गएका छन् । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठसम्म ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो ।

सो अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here