सेनाले बनाएका सडकको प्रगति यस्तो छ

फास्ट ट्रयाकको फाइल फोटो

काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने काम सेनाले नै गर्दै आएको छ ।

अहिले सेनाले काठमाडौं–तराई द्रुुतमार्ग, कालीगण्डकी करिडोर, कर्णाली करिडोर, जाजरकोट–दुनै सडक र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माणको काम गरिरहेको छ ।

यसका साथै केही महिना अघि मात्र सेनाले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकको ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरेको छ । सो सडकले उत्तरतर्फको रसुवागढी नाकालाई जोड्छ जुन नाका २०७२ सालको भुकम्पपनि नेपाल–चीन व्यापारको मुख्य केन्द्र बनेको छ । आगामी दुई वर्षभित्र सो सडकको स्तरोन्नति गरी कालोपत्रे गरिसक्ने सरकारको योजना छ ।

काठमाडौं–तराई द्रुतमार्ग

काठमाडौं–तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार भई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश भएको रक्षा मन्त्रालयले जानकारी दिएको छ । तर, पहिलेको डीपीआरले अनुमान गरेको लागत १ खर्ब १२ अर्ब रुपैयाँ भन्दा ५२ अर्बले नयाँ लागत अनुमान बढी भएपछि त्यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आपत्तिले डीपीआरले सरकारको ग्रीन सिग्नल पाउने सकेको छैन ।

७६ किलोमिटर लामो सो द्रुतमार्गको डिजाइन तथा सुपरभिजनका लागि अन्तरराष्ट्रिय परामर्शदाता छनोट गर्ने काम ९० प्रतिशत सम्पन्न भएको सेनाको भनाइ छ ।

त्यसैगरी, सो सडकका लागि जग्गा अधिग्रहण गर्ने कार्य करीब ९६ प्रतिसत सकिएको छ भने रुख कटानको काम करीबकरीब सकिएको छ । साथै, निर्माणाधीन ५४ किमि सडकखण्ड भित्र फर्मेशन लेबलसम्मको कटिङ गर्ने काम पनि ७७ प्रतिशत सकिएको छ ।

कालीगण्डकी करिडोर

दक्षिणमा भारत र उत्तरमा चीन जोड्ने ८० किमि लामो कालीगण्डकी करिडोरमा हलसम्म ३८ किमि ट््रयाक चौडा गरिएको छ । चितवनको ठोरी तथा नवलपरासी र रुपन्देहीका नाकाबाट नवलपरासीको गैंडाकोट हुँदै वा पाल्पाको राम्दी वा गुल्मीको रिडीबाट प्रवेश गरेर उत्तरी नाका पुग्ने सडक हो कालीगण्डकी करिडोर । गत आर्थिक वर्षमा सेनाले सो सडकको ३१ किमि खण्ड चौडा गरेको छ ।

कर्णाली करिडोर

अर्को राष्ट्रिय महत्वको कर्णाली करिडोरमा हालसम्म १ सय ६ किमि ट्रयाक खोल्ने काम सकिएको छ । १ सय २३ किमि लामो सो सडकमा सेनाले गत आव मा खुलालुबाट हुम्लाको तुम्चासम्म १४ किमि ट्रयाक निर्माण गरेको छ । त्यसैगरी ८४ किमि दुरीमा पर्ने कुवाडीखोलामा बेलिबृज जडान गर्न एबुटमेण्ट निर्माण गरिएको छ भने १ सय १५ किमिको खच्चामा क्याम्प स्थापना गरिएको छ ।

जाजरकोट–दुनै सडक

हालसम्म सडकले नछोएको भनिएको जिल्ला डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना हो जाजरकोट–डोल्पा (दुनै) सडक । सेनाले आफ्नो जिम्माको १ सय ३ किमि सडकको ट्रयाक खोल्ने काम गत मंसरमा सम्पन्न गरेको छ ।

अहिले उसले त्रिपुराकोट–सुपानी–दुनै खण्डको १४ किमि ट्रयाक फराकिलो पार्ने र मोड सुधार गर्ने काम गरिरहेको छ । केही समयमै दुनैमा सडकबाटो पुग्ने दाबी सेनाले गरेको छ ।

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना १ सय १८ किमि लम्बाइको छ । हालसम्म सो सडकको २४.८ किमि ट्रयाक खोल्ने काम सकिएको छ । चालु आवमा सेनाले ९.२ किमि ट्रयाक खोलेको छ भने सल्लेरीमा क्याम्प स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here