उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा कम दर्ता

-जितेन्द्र खनाल

काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा उद्योगमा लगानी अघिल्लो आर्थिक वर्षको भन्दा धेरै घटेको हो ।

विभागको तथ्यांक अनुसार ०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ६२ वटा कम उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा ४ सय ९८ वटा उद्योगहरु दर्ता भएकामा ०७५/७६ त्यो संख्या घटेर मा ४ सय ३६ वटा मात्रै दर्ता भए ।

लगानी ठूलो परिमाणमा घट्यो

उद्योग क्षेत्रको लगानीमा पनि ठूलो परिमाणमा कमि आएको तथ्यांकले देखाएको छ ।

आव ०७४/७५ को तुलनामा ०७५/७६ मा यस क्षेत्रको लगानी करिब ६८ अर्बले घटेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा दर्ता भएका उद्योगबाट तीन खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएकोमा आव ०७५/७६ मा दर्ता भएका उद्योगमा भने २ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै लगानी हुने देखिएको छ ।

पर्यटन क्षेत्रका उद्योग दर्ता सबैभन्दा कम

गत आर्थिक वर्षमा पर्यटन क्षेत्रका उद्योग दर्ताको संख्यामा सबैभन्दा धेरै कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रमा मात्रै १ सय ५९ वटा उद्योगहरु दर्ता भएकोमा आर्थिक वर्ष ०७५/७६ मा भने यस क्षेत्रका १ सय १७ वटा मात्रै दर्ता भएका छन् ।

सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सरकारको लागि यो भने त्यति राम्रो संकेत भने होइन । आव ०७४/७५ को तुलनामा वन्यजन्तु तथा कृषि क्षेत्र र उर्जा क्षेत्रका उद्योगको संख्यामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रका उद्योग दर्तामा कमी आएको छ ।

आव ०७५/७६ मा वन्यजन्तु तथा कृषि क्षेत्रमा आधारित २७ वटा उद्योगहरु दर्ता भएका छन् । जब कि आव ०७४/७५ मा २२ वटा मात्रै दर्ता भएका थिए ।

त्यस्तै आव ०७५/७६ मा निर्माण क्षेत्रका ३ वटा, उर्जा क्षेत्रका ४७ वटा, सूचना क्षेत्रका २१ वटा, उत्पादनमूलक क्षेत्रका १ सय १८ वटा खनिजमा १ तथा सेवामूलक क्षेत्रका १ सय २ वटा उद्योगहरु दर्ता भएका छन् ।

उद्योगमा लगानी घट्दा त्यसको प्रत्यक्ष असर रोजगारीमा पनि देखिने भएको छ । अघिल्लो वर्ष दर्ता भएका उद्योगबाट २७ हजार रोजगारी सिर्जना हुने प्रतिबद्धता भएकोमा गत आर्थिक वर्षमा भने २३ हजार मात्रै रोजगारीको प्रतिबद्धता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here