विदेशी विनियम सञ्चितिको लक्ष्य घटाइयो, ७ महिनाको आयात धान्ने विदेशी मुद्रा राखिने

काठमाडौं ९, साउन । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि विदेशी विनिमय सञ्चितिको लक्ष्य घटाएर ७ महिनामा झारेको छ । नयाँ व्यवस्था अनुसार यो वर्षभर राष्ट्र बैंकले ७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम गर्नु पर्ने छ ।

गत वर्ष यस्तो लक्ष्य ८ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने थियो । तर, यो लक्ष्य अधिकांश महिनामा पुरा भएन । सोही कारण राष्ट्र बैंकले लक्ष्य परिमार्जन गरेको होला ।

बढ्दो शोधनान्तर घाटासँगै मुलुकको विदेशी विनियम सञ्चिति निरन्तर रुपमा घटिरहेको छ । सोही कारण राष्ट्र बैंकलाई गत वर्षको लक्ष्य पुरा गर्न अप्ठेरो परेको थियो ।

गत जेठसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ छ । २०७५ असारमा यो ११ खर्ब ०२ अर्ब ५९ करोड थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असारसम्म ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत जेठमा ८ खर्ब ८५ अर्ब ८३ करोड छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १ खर्ब ४५ अर्ब ५ करोड रुपैयाँ छ ।

२०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here