डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, १० वटा जिल्ला उच्च जोखिममा

२७ हजार ५६९ जनामा संक्रमण

काठमाडौं, १२ असोज । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ ।

बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ।

हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।

दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

डेंगु संक्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ।

डेंगु संक्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमश: उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ।

यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

संक्रमितको सख्या २७ हजार ५६९ जना पुगेको छ । डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

जिल्लागत संख्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here