लघुबीमाको लाइसेन्समा ४ गुणा बढी आवेदन, कुन-कुन कम्पनीले दिए ? (सूचीसहित)

काठमाडौं, १३ असोज । लघुबीमाको लाइसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । बिहीवार मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् ।

भदौं १० गते बीमा क्षेत्रको नियामक बीमा समितिले ७ वटा जीवन र ४ वटा निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव आह्वान गरेको थियो ।

अन्तिम दिनसम्ममा १५ वटा जीवन र १६ निर्जीवन बीमा कम्पनीको लागि आवेदन परेको समितिले जनाएको छ । अन्तिम दिनमै एकैदिनमा २० जनाले आवेदन दिएका हुन् ।

बीमा समितिले भदौ ५ गते प्रादेशिक रुपमा लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो ।

बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै समितिले सातवटै प्रदेशमा जीवन र निजीवन लघुबीमा कम्पनी स्थापना गर्ने तयारी थालेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । जसलाई कार्यान्वयन गर्न समितिले लघुबीमा निर्देशिका जारी गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आर्थिक चलखेलको भरमा आफ्नै नीति विपरित समितिले लाइसेन्स वितरणको गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । यहीक्रममा कम्पनीहरू बीच लाइसेन्स लिन प्रतिस्पर्धा चलेको छ

समितिले लघुबीमा कम्पनीको स्थापनाका लागि ७५ करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । गत चैतमा मात्र जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउन साढे दुई गुणाले चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका थिए । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा कम्पनीहरले नै लघुबीमा व्यवसाय गदै आएका छन् ।

कुन–कुनले दिए ?

समितिका अनुसार १५ वटा जीवन र १६ निर्जीवन बीमा कम्पनीको लागि आवेदन परेका छन् । नेको लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आवेदन दिएका छन् ।

यस्तै, गरिमा माइक्रो जनरल, सीजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, केयर माइक्रो जनरल, अभियान लघु बीमा, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

यसैगरी, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, उन्नती माइक्रोजनरल, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफले आवेदन दिएका छन् ।

बीमा समितिको निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संस्थापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ ।

३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्नेछ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ ।

बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here