डेंगु संक्रमण ४०औं हप्तामा, नेपालमा पहिलोपटक सेरोटाइप-३ फैलिइरहेको पुष्टी

काठमाडौं । नेपालमा डेंगु संक्रमण ४० औं हप्तामा प्रवेश गरेको छ। गत साउन यता नेपालमा ४१ हजार ७४३ मा डेंगु पुष्टी भएको छ।

यसबाट ४९ जनाको मृत्यु भएको छ। संक्रमण घट्दोक्रममा रहेकाले त्रसित नहुन तर सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ।

डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। सबैभन्दा धेरै काठमाडौंमा १२ हजार ६५२, ललितपुरमा ८ हजार ८७६ र मकवानपुरमा ४ हजार ३२० मा संक्रमण पुष्टी भएको छ।

त्यस्तै नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टी भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो ।

यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टी भएको थियो । जटिलताका हिसाबले डेंगुका सबै सेरोटाइप उस्तै भए पनि एकपटक एउटा सेरोटाइपबाट संक्रमित भएका व्यक्तिलाई दोस्रोपटक फरक सेरोटाइपले संक्रमण गराए जटिलता बढी बताइएको छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here