‘ग्लोबल आइएमई व्यवसाय विस्तारमा देशकै ठूलो बैंक, शेयरधनीलाई जतिसक्दो उच्च लाभांश दिने’

काठमाडौं,२४ मंसिर । ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभाले बैंक अफ काठमाण्डू लिमिटेडसँग मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।

साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्जर प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए)का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भइसकेको छ । साथै, साधारणसभाले बैकको अधिकृत पूँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । यसका साथसाथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।

बैक अफ काठमाण्डुसंगको मर्जरले मुलुककै सवैभन्दा ठूलो बैंक बन्न सहयोग पुर्याउने मात्र नभई यसवाट बैंकले रणनीतिक रुपमै आफुलाई नेपालको वित्तीय क्षेत्रमा आफ्नो विशिष्ट पहिचानसहित नेपालक अर्थतन्त्रको सम्वृद्धिमा विशेष योगदान दिन सक्ने विश्वास बैंकले लिएको छ ।

यसका साथ सबै स्टकहोल्डरको हितमा उल्लेखनीय कार्य गर्न सक्षम बैंकको रुपमा स्थापित गर्ने बैंकले लक्ष्य लिएको छ । बैंकको वढ्दो श्रोतलाई दृष्टिगत गरी राष्ट्रिय महत्वका ठूलठूला उद्योग परियोजनाहरुमा लगानी गर्न बैंकले नेतृत्वदायी भुमिका खेल्न सक्ने क्षमता अभिवृद्धि हुने हुँदा सोही अनुसार स्वाभाविक रुपमा कार्यक्षेत्र विस्तार हुने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

मर्जर पश्चात बैंकले उत्पादनशिल क्षेत्रमा मात्र भनई राष्ट्रिय प्राथमिकतामा रहेको कृषि कर्जा, साना उद्यमी कर्जा, उर्जा क्षेत्र लगायत राष्ट्रले सहुलियत प्रदान गरी आएका अन्य क्षेत्र जस्तै, विपन्न वर्ग, महिला उद्यमी, युवा रोजगार आदि क्षेत्रमा समेत थप श्रोत पहिचालन गर्न विशेष पहल गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

विगतमा थुप्रै वित्तीय संस्थाहरुलाई गाभेर संचालनमा ल्याउँदाका खारिएका अनुभवहरु बैंक अफ काठमाण्डूसँगको मर्जर पश्चात् पनि उपयोगी हुने बैंकको विश्वास छ । मर्जरपछि एक सबल र नेपालकै सबैभन्दा ठूलो बैंक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here