मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी साढे ७ प्रतिशत हाराहारी रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फृत ७ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको थियो । तर, त्यसअनुसार लक्ष्य पूरा गर्न सकेको देखिँदैन ।

बाह्य दबाबका कारण मूल्यवृद्धिको प्रभाव सबै वस्तुमा परेको छ । केही समय अघि राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले १२ प्रतिशतसम्म मूल्यवृद्धि पुग्न सक्ने प्रक्षेपण गरेको थियो ।

यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराा तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव शून्य ७ प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।

घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव २९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

गत वर्षको मङ्सिर महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ९१ प्रतिशत, सात दशमलव ५२ प्रतिशत, छ दशमलव ९५ प्रतिशत र चार दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here