बालेनलाई ‘सिलाम साक्मा’, भन्छन्-‘मृत्युको बाटो छेके झैं, विकासको बाटो कसैले छेक्न नसकोस् ’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह दुबै चर्चित मेयर हुन् । खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका छन् ।

भेटपछि सम्पाङले लेखेका छन्, ‘आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी ।’

भेटका क्रममा किराँत संस्कृती अनुसार शुभको पहिचानको रुपमा रहेको सिलाम साक्मा मेयर हर्क साम्पाङले बालेनलाई लगाइदिएका छन् ।

हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैं, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

लिम्बु जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरिन्छ।

बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ। सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला–पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन्। सिलाम साक्मा मुन्धुम र लिम्बु परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ।

अधिकांश लिम्बु संघ–संस्थाको लोगो सिलाम साक्मा आकारको छ। घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ। लिम्बु जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन्।

लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here