२४ बीमा कम्पनीले बुझाए ‘क्यापिटल प्लान’, पूँजी वृद्धिको लागि अधिकांशको रोजाइ मर्जर

काठमाडौं, १२ वैशाख । बीमा समितिमा २४ वटा बीमा कम्पनीहरूले पूँजी वृद्धिको योजना पेस गरेका छन् । संञ्चालनमा रहेका ३९ जीवन र निर्जीवन कम्पनीमध्ये २४ कम्पनीले मात्रै योजना पेस गरेका हुन् ।

बैशाख ११ गते पूँजी वृद्धिको प्लान बुझाउने अन्तिमदिन दिन हो । त्यसदिनसम्म १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका बीमा समितिले जनाएको छ ।

जसमा जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफले क्यापिटल प्लान पेश गरेका छन् । उनीहरुले हालको चुक्ता पूँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउने गरी प्लान पेश गरेका हुन् ।

यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले पूँजी वृद्धिको योजना समितिमा पेश गरिसकेका छन् । यी कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ पुर्याउने योजना बनाई बीमा समितिमा पेश गरेका हुन् ।

कम्पनीहरूले हकप्रदमार्फत चुक्ता पूँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्तापूँजी बढाउने र मर्जरमा जाने तीन विकल्प रहेका छन्।

मुख्यतः कम्पनीहरूले हकप्रदमार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही विधिको साहरा लिने छन्।

हकप्रदकै सहारामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्तापूँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्।

अब बीमा कम्पनीहरूका पनि सोही समस्या आउने कतिपय जानकारहरूको बुझाइ छ। सेयर संख्या बढेपछि सेयर भ्यालु घट्ने सामान्यत नियम नै हो।

समितिका अनुसार कम्पनीहरूले हकप्रद जारी गर्ने, बोनस सेयर दिने, मर्जर तथा आइपीओ निष्कासन गर्ने योजना पेस गरेका छन । गत चैत १० मा समितिले जीवन र निर्जिवन बीमा कम्पनीहरूको पूँजी साढे दुई गुणाले बढाउने समितिले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बीमा कम्पनीहरूले १ महिना भित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गरेर पेस गर्न निर्देशन दिएको थियो ।

समितिले जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूजी २.५ अर्ब पूँजी तोकेको छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको थियो ।

समितिको उक्त निर्देशनसँगै अधिकांश बीमा कम्पनीहरू पूँजी वृद्धिको दबाबमा परेका छन् । जस अनुसार नेपाल लाईफ इन्स्योरेन्स बाहेकका जीवन र निर्जीवन बीमा कम्पनीहरू मर्जमा जाने वा अन्य विकल्प अपनाएर पूँजी बढाउने भन्ने द्धिविधामा छन् ।बीमा कम्पनीहरूले २०७९ को चैत मसान्त भित्र तोकिएको पूँजी कायम गरिसक्नुपर्ने छ ।

बीमा कम्पनीको संख्या घटाएर संस्थागत सुशासन र वित्तीय आधार बलियो बनाउनुका साथै बीमाको पहुँच बढाउन मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिएर पूँजी वृद्धि गरिने समितिको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here