प्रमुख बालीमा परिचित मकै, गहुँ, कोदोमा समेत नेपाल परनिर्भर

काठमाडौं, १२ वैशाख । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

नेपालले आयात गर्ने तरकारीमा हरियो धनियाँदेखि प्याज, आलुदेखि गोलभेँडासम्म छन् । भने मकै, गहुँ, कोदो, भटमास आदिमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।

विभागको विवरणानुसार गहुँको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार रुपैयाँबराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै, बिउका रूपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य २९ लाख ९६ हजार रुपैयाँबराबर छ ।

१५ अर्बको मकै आयात

धान, मकैजस्ता खाद्यबाली नेपालको प्रमुख बालीका रूपमा परिचित छ । पाखापखेरा जताततै मकै रोप्न सकिन्छ । तर, विभागको विवरणानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ अर्ब रुपैयाँभन्दा बढीको मकै आयात भएको देखिन्छ ।

कुल ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार रुपैयाँबराबर रहेको छ ।

यसैगरी, सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बिउ आयात भएको छ । त्यसको लागत मूल्य एक अर्ब पाँच करोड ६६ लाख ६० हजार रुपैयाँबराबर छ । मकैको आयातबाट सरकारले ७९ करोड ४४ लाख ३८ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

दुई करोडको कोदो

नेपालको जलवायु कोदोखेतीका लागि उपयुक्त छ । तर, कोदोखेती हुने जमिन बाँझो रहँदा नेपालीले दुई करोड ७१ लाख २० हजार रुपैयाँबराबरको आयात गरेको विवरण विभागले सार्वजनिक गरेको छ ।

चालु आवको चैत मसान्तसम्म कुल आठ लाख पाँच हजार ७०७ केजी कोदो आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा खाद्यन्य उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here