प्रधानमन्त्री भन्छन्ः नेपालमा मात्रै पाइने गैंडा हो राइनो हैन

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मात्रै पाइने एकसिंगे गैँडा राइनो नभएको बताएका छन् ।

काठमाडौंको सोल्टी होटलमा शनिबारसम्म चल्ने एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरु, यूरोपियन युनियनको नियामक निकायका प्रमुख, अमेरिका, बेलायत, फ्रान्सका नियामक निकायका प्रतिनिधिका साथै बोइङ, एयरबस लगायतका हवाइ निर्माता कम्पनीका प्रतिनिधि समेत सहभागी रहेका छन्।

सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष डा. अल्मुयीवा बनार्ड अलेउ, आइकाओका विभिन्न विभागका निर्देशकहरु, एसिया प्रशान्त क्षेत्रीय निर्देशक लगायत उच्च पदाधिकारीहरु सहभागी रहेका छन् ।

४३ मुलुकका २९१ प्रतिनिधि २६ वटा प्रवद्र्धक संस्था लगायत ४०० जना विदेशीको सहभागिता रहेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भौगोलिक रूपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको छ ।’

विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने भन्दै उनले यसको नाम नेपाली नै हुनुपर्ने बताए ।

‘हामीसँग धेरै प्राकृतिक उपहार छन्, त्यसैले हामी विश्वकै सुन्दर देश हौं, हामीसँग सगरमाथा छ त्यस्तै हामीसँग मात्रै गैंडा छ, तर संसारमा हामीसँगमात्र भएका चिजको नामाकरण हाम्रै पहिला हुनुपर्छ । त्यसैले राइनो होइन गैडा हो, माउन्ट एभरेष्ट होइन सगरमाथा हो, ’ उनले भने ।

प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न वर्षेनी विश्वभरबाट लाखौं पर्यटकहरू आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरि हुनु पर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

यस सम्मेलनबाट आइकाओलाई नागरिक उड्डयनको क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

नेपालले यसअघि सन् १९७८ र १९९८ मा पनि यस्तो सम्मेलन आयोजना गरेको थियो ।

यस वर्ष सम्मेलनको शिर्षक ‘हार्मोनाइजिङ एफोर्ट्सक टु मिट क्यापासिट कन्स्ट्रेन्ट्स’ रहेको छ ।

हरेक वर्ष आयोजना हुने यो सम्मेलनबाट उड्डयन सुरक्षा, क्षमता, एयर नेभिगेसन, आर्थिक विकार र हवाइ ढुवानी, उड्डयन र वातावरण प्राविधिक र क्षेत्रीय सहकार्य लगायत नागरिक उड्डयन सँग सम्बन्धित अन्य समसामयिक विषयवस्तुमा कार्यपत्रहरु प्रस्तुत गरिने र त्यसमाथि गहन छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here