दोलखा । दोलखाको बिगु गाउँपालिका–३ बुलुङ र गौरीशंकर गाउँपालिका–८ खारे (साबिक बुलुङ गाविस र खारे गाविस)लाई जोड्ने तामाकोशी नदीमाथिको ११० वर्षे पुरानो ऐतिहासिक झोलुङ्गे पुल निजी खर्च जुटाएर जिर्णोद्धार गरिएको छ ।
स्थानीयको सहजताका लागि तत्कालीन राणाकालीन समय गौरा पर्वत नेपाल–चीनको सीमाना तिब्बतस्थित भोट खोलाबाट दक्षिण हुँदै बहने बुलुङ र खारेको बीचमा पर्ने सो नदीमाथि छविलाल आचार्यले १९७० सालमा निर्माण सुरू गरी १९७३ सालमा पुल तयार पारेका थिए ।
आचार्यले तीन वर्ष लगाएर बुलुङपट्टी ठूलो केसरी र खारेपट्टी सहेले खेतमा जीप राखी दुईलठ्ठे पुल निर्माण गरेका थिए । पुल निर्माणपछि तत्कालीन गाउँ विकास समितिहरू बुलुङ, खारे, लादुक, सुरीलगायतका स्थानीयलाई वारीपारी आवतजावत गर्न सहज भएको थियो ।
त्यसपछि २००४ सालमा बुलुङ बसोबास गर्ने षडानन्द आचार्यको ५ भाई छोराहरू मिलेर पुल निर्माण लाइ लाग्ने सम्पुर्ण खर्च आफै हालेर पुलमा ठूलो लठ्ठा र थप साङ्लो राख्नाका साथै पुललाई अहिलेको जामुने भन्ने स्थानमा सारेका थिए । त्यसबेला पुलमा ठूलो लठ्ठा र थप साङ्लो राख्नका लागि पुलका निर्माणकर्ताहरू कमल प्रसाद आचार्य, कलाधर आचार्य, देवदत्त आचार्य, प्रयागराज आचार्य र गौरीकान्त आचार्यले रामेछाप ठोसेमेक्चन स्थित फलाम खानीबाट काचो फलाम हप्तौँ लगाएर बोकेर ल्याइएको थियो ।
सो फलामलाई निर्माणस्थलमै आरन खडा गरी गालेर आवश्यक आकार निकालेर पुल निर्माण गरिएको थियो । फलाम गाल्न दाउरा पनि निक्कै खर्च भएको जानकारहरू सुनाउँछन् । जामुनेमा पुल सारेर थप व्यवस्थित र बलियो बनाएपछि मानिसहरूको आवतजावतमा थप सहज भएको आफूहरूले सुनेको पुराना पुस्ताका जानकारहरू बताउँछन् ।
आफ्ना पुर्खाहरूले दु:ख गरी निर्माण गरेको पुल अहिले तिनैका सन्ततीहरूले पुन निजी खर्चमै जिर्णोद्धार गरेका हुन् । पछिल्लो समय त्यस क्षेत्रमा सडक तथा मोटरेवल पुलहरू निर्माण भएसँगै ऐतिहासिुक पुल थप जीर्ण बन्दै गएको थियो । यस्तै, २०७२ सालको भूकम्पबाट समेत पुलमा क्षति पुगी थप जीर्ण बनेको थियो ।
पुलको जिर्णोद्धार र रेखदेखका लागि उनीहरूका सन्ततीहरू सक्रिय बनेका हुन् । कमल प्रसादका सन्तती कबन आचार्य बिगु–३ बुलुङ कलाधरका सन्तती दीपक आचार्य गौरीशंकर–८ खारे देवदत्तका सन्तती ओमकृष्ण आचार्य (बिगु–३ बुलुङ) प्रयागराजका सन्तती सुदर्शन आचार्य (गौरीशंकर–८ खारे), गौरीकान्तका सन्तती दीपक (‘बिष्णु राज’ आचार्य (बिगु–३ बुलुङ), छविलालका सन्तती अमृत कुमार आचार्य (बिगु–२ ओराङ) क्रियाशील भएर पुल जिर्णोद्धार गरेका हुन् ।
तत्कालीन समयमा व्यक्तिगत खर्च र श्रममा निर्माण गरिनु एउटा परिस्थिति भए पनि पुन: जिर्णोद्धारका लागि समेत निजी खर्च र श्रम नै किन भन्ने दैनिक नेपालको जिज्ञासामा नेतृत्वकर्ता सन्ततीमध्येका अग्रज समाजसेवी दीपक आचार्यले भने, ‘पितापुर्खाहरूको सपना, कृति, पौराणिक तथा भौतिक संरचना जीवीत राख्न र उहाँहरूको नाम अमर राख्नका लागि ऐतिहासिक साङ्ले साँघु जिर्णोद्धार गरेका हौँ ।’
यस्तै, कबन आचार्यका अनुसार २०७९ सालमा सुरू गरिएको जिर्णोद्धारको काम २०८० सालको यही असार महिनामा सम्पन्न भएको हो । मन, बचन र कर्मले पुल जिर्णोद्धार गर्न सकिएको बताउँदै उनले पितापुर्खाको सपना जोगाउन सकेकोमा खुसी व्यक्त गरे । अब आफ्ना भावी सन्ततीले समेत यो पुललाई संरक्षण गर्दै जोगाएर राख्नुपर्ने आफूहरूको अपेक्षा रहेको उनले सुनाए ।
यसैगरी, पुल जिर्णोद्धार गर्न करिब ६ लाख रुपैयाँ खर्च भएको ओमकृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार यो सम्पूर्ण खर्च ६ जना पुर्खाका सन्ततीहरूले व्यहोरेका छन् ।
पुल जिर्णोद्धारपछि खुसी व्यक्त गर्दै नेतृत्वकर्तामध्येका अग्रपङ्तिका व्यक्ति अमृत कुमार आचार्यले सबै सहयोगी आचार्य बन्धुहरूलाई बधाइ दिदै पुण्य काममा संलग्न दाजुभाइहरूको नामलाई कवितात्मक सुत्रमा यसरी बाँधेका छन्–
छविलाल कमलप्रसाद अनि कलाधर
देवदत्त प्रयागराज गौरीकान्त भर ।।
पितापुर्खा अमर रहुन् संरचना अनि ।
राम्रो कामको सिको लिनु सन्तानले पनि ।।