प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ठाउँमा ५१ विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेशन संचालनमा ल्याएको छ ।

बुधबार एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनको संयुक्त उद्घाटन गरेका हुन् ।

प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जरहरू राखिएका छन् ।

यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणले संचालनमा ल्याएका यी चार्जिङ स्टेशनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर र २५ वटा साना ठूला कारका लागि चार्ज गर्न सकिने प्रणाली जडान गरिएको छ ।

एउटा सवारीसाधन पूर्णरूपमा चार्ज हुनका लागि बढीमा डेढ घण्टासम्म लाग्ने कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले भुक्तानी सहजताका लागि हरेक चार्जिङ स्टेशनमा अनलाइन बिलिङ सिस्टम जडान गरेको छ ।

ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने उनले बताए ।साथै, प्राधिकरण चाँडै थप ११ वटा चार्जिङ स्टेशन संचालनमा ल्याउने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्राधिकरणले एसियाली विकास बैंकको झन्डै ३८ करोड ऋण सहयोगमा ती चार्जिङ स्टेशनहरू निर्माण गरी संचालनमा ल्याएको हो ।

५१ वटा चार्जिङ स्टेशन निर्माणको ठेक्का चिनियाँ कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडले ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) पाएको थियो । यही कम्पनीले चार्जिङ स्टेसन निर्माणदेखि आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भार समेत गर्नेछ ।

कहाँ कहाँ छन् प्राधिकरणका चार्जिङ स्टेशन

प्राधिकरणका अनुसार काठमाडौं उपत्यका रत्नपार्क, पुल्चोक, बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरी ७ वटा चार्जिङ स्टेशन संचालनमा आएका छन् ।

त्यसैगरी, प्रदेश नम्बर १ को झापाका दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ स्थानमा चार्जिङ स्टेशन स्थापना गरिएको छ ।

त्यस्तै, प्रदेश नम्बर २ को पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात स्थानमा चार्जिङ स्टेशन संचालनमा आएको छ ।

त्यसैगरी, वाग्मती प्रदेशमा धादिङको मलेखु, बीपी राजमार्गको सिन्धुली, मकवानपुरको हेटौंडा र चितवनको भरतपुरमा दुई–दुई वटा स्टेशन राखिएका छन् । मुग्लिनरकुरिनटारमा चार वटा र काभ्रेको बनेपामा एउटा गरी बागमती प्रदेशमा १३ वटा स्टेशन स्थापना गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एकरएक र कास्कीको पोखरामा तीन गरी ६ वटा स्टेशन रहेका छन् ।

लुम्बिनी प्रदेशको नेपालगञ्ज, बुटवल, दाङको भालुवाङ, नवलपरासीको बर्दघाटरसुनवलमा दुई वटा रहेका छन् भने कर्णाली प्रदेशको सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक–एक गरी तीन वटा चार्जिङ स्टेशन संचालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here