चेकमा गलत हस्ताक्षर गरेमा कालाेसूचीमा परिने

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले खातामा पर्याप्त मौज्दात रकम नभई चेक काटेमा वा चेकमा हस्ताक्षर नमिलेमा कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यस भन्दा पहिले गलत हस्ताक्षर गरेमा कारबाहीको व्यवस्था थिएन ।

गलत हस्ताक्षर गर्ने व्यक्ति फर्म वा संस्थालाई कालोसूचीमा समावेश गर्न सक्ने सम्मको व्यवस्था गरेको छ । त्यस्तै यस विषयमा कर्जा सूचना केन्द्रमा त्यससम्बन्धि जानकारी नगराउने बैंक वित्तीय संस्थालाई समेत कारबाही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

के छ त राष्ट्र बैंकको नयाँ व्यवस्थामा ?

कुनै व्यक्ति फर्म, कम्पनी वा सगठित संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात नभई जतिसुकै रकमको चेक जारी गरेमा वा चेक लिने व्यक्तिले चेकमा उल्लिखित विवरण सही भएको यकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य कुनै कारणले चेक फिर्ता भएमा बुँदा नं. १०.१ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहाय वमोजिम हुनेछ

-खातामा मौज्दात अपर्याप्त भएमा

(१) एकपटक भुक्तानी नभइकन फिर्ता भएको चेकको हकमा चेक धारक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कम्तीमा दुई कार्यदिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ

(२) सो म्याद पश्चात्पनि रकम भुक्तानी नभएको खण्डमा चेक धारक व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्नेछ । तर, यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिना भित्र दिइसक्नु पर्नेछ

-चेकमा गलत हस्ताक्षर गरी चेक भुक्तानी नभएमा

(१) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले जारी गरेको चेकको हस्ताक्षर नमिलेको खण्डमा बैंकले सो चेक निर्देशन नं. विद्यमान व्यवस्था संशोधित व्यवस्था धारकलाई चेकको हस्ताक्षर नमिलेको व्यहोरा लिखित रुपमा जानकारी गराउनु पर्ने छ ।

(२) चेक धारकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक जारी गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थालाई बैंक÷वित्तीय संस्था मार्फत जानकारी गराउनु पर्ने छ । चेक जारी गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थाले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारकले पहिलो पटक चेक पेश गरेको २ कार्यदिन पश्चात चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्नेछ ।

(३) खण्ड (२) बमोजिम लिखित जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने त्यस्ता व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक विदा बाहेक सात दिनको सूचना दिनुपर्नेछ र सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा (चेक हराएको, चोरी भएको वा अनाधिकृत रुपमा चेक जारी भएको लिखित निवेदन प्राप्त भएको अवस्थामा बाहेक) त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले अनिवार्य रुपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्नेछ । सो अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई यसै निर्देशन बमोजिम कारबाही हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here