‘एचआइभी संक्रमितमाथिको विभेद अन्त्य गर्न राष्ट्रिय एचआइभी तथा एड्स महासघंको माग’

काठमाडौं । एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंले संक्रमितमाथिको विभेद अन्त्य गर्न माग गरेको छ ।

७५ औ विश्व मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संक्रमित माथि अहिले पनि विभिन्न विभिन्न खालको भेदभाव र अपमान हुने गरेको पाइएकाले उक्त माग गरेको हो ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले कुनै पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको भएपनि संक्रमितमाथि घरपरिवार, समाजले गर्ने लाञ्छना घृणा गर्ने व्यवहार नेपालका दुर्गम ठाउँ,अशिक्षित समूहमा कायम रहेको राष्ट्रिय एचआइभी तथा एड्स महासंघका कोषाध्यक्ष हिरामणी सिटौलाले बताए।

संक्रमितहरूलाई भेट्यो कि एचआइभी सरिहाल्छ भन्ने व्यवहारको कारण संक्रमितहरू नजिकको स्वास्थ्य संस्थामा सेवा लिन जानै नसक्ने स्थिति रहेको, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवाको अस्वीकृति,गोपनीयता उल्लंघन,उपचार सेवामा अपर्याप्त पहुँचको सामना अहिले पनि गर्नु परिरहेको महासंघले जनाएको छ ।

‘चिकित्सकहरूले नै संक्रमितमितहरूले गोपनीयता खुलाइदिएका घटनाको कारण धेरै संक्रमितहरू नजिकका स्वास्थ्य संस्थामा उपचार लिनबाट वञ्चित भएका महासंघकै परियोजना अधिकृत राजेश्वरी प्रजापतिले जानकारी दिइन् । समाजले गर्ने विभेदपूर्ण व्यवहार थाहा पाउने, विभिन्न अवसरबाट वञ्चित हुनु परेपछि आत्महत्याको सोच आउने र प्रयास गरेको समेत पाइएको बताइन्।

संक्रमितहरूलाई घर निकाला, स्वास्थ्य संस्थामा उपचारबाट वञ्चित गर्ने, अरूको पालो सकिएपछि उपचार गर्ने, रोजगारीबाट निकाला गर्ने,एचआइभी संक्रमित बालबालिकालाई स्कुलमा भर्ना हुनबाट वञ्चित गर्ने, एचआइभी संक्रमित बालबालिकाको नागरिकता नबनाइदिने, एचआइभी संक्रमित महिलालाई अंश तथा नागरिकताबाट वञ्चित गर्ने जस्ता विभेद अहिले पनि कायम रहेको महासंघले जनाएको छ ।

नेपालमा एचआइभी संक्रमितहरुको संख्या ३० हजार रहेको छ। संक्रमित मध्ये २४ हजार ३ सय जनाले एचआइभी भाइरसको औषधी नियमित रुपमा सेवन गरिरहेका छन्। बाँकी संक्रमित सम्पर्कमा आएका छैनन्। सरकारले सन् २०३० सम्ममा औषधी पुरै प्रतिशत सङ्क्रमितले औषधी सेवन गरेको स्थिति बनाउने लक्ष्य लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here