हेलमेटको व्यापार: अनलाइन सपिङको कारण पसलमै गएर किन्ने ग्राहक घटे

–जितेन्द्र खनाल

काठमाडौं, २५ भदौ । आजभन्दा तीन महिना अगाडि जेठ पहिलो साता तिर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरी मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दियो ।

दुईपाङ्ग्रे सवारीको दुर्घटना दर धेरै भएको र धेरैजसो दुर्घटनामा मोटरसाइकल वा स्कुटर चलाउने भन्दा पछाडि बस्नेलाई धेरै चोटपटक लागेको र मृत्यु पनि धेरै भएको पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक वसन्तकुमार पन्तले बताएका थिए ।

ट्राफिकले यातायात व्यवस्था ऐनमा संशोधन गरी पछाडि बस्नेको लागि पनि हेलमेट लगाउनुपर्ने प्रावधानको व्यवस्था गर्न यातायात विभागलाई अनुरोध गरेको बताएसँगै हेलमेट व्यावसायीको प्रभावमा पनि ट्राफिकले यस्तो नियम ल्याउन लागेको भनेर चर्को आलोचना समेत भयो ।

हुन त उक्त नियम अझै लागु भएको छैन । तर, उक्त खबर सार्वजनिक भएको केही दिन हेलमेटको व्यापार ह्वात्तै बढेको हेलमेट व्यावसायीहरुको अनुभव छ । उक्त खबरले बजार तताएको हेलमेटको व्यापार फेरि विस्तारै सुस्ताएको व्यावसायीहरु बताउँछन् ।

व्यापारमा अनलाइन बुकिङ्गको प्रभाव

काठमाडौंको त्रिपुरेश्वरमा विगत तीन वर्षदेखि हेल्मेट व्यवसाय गर्दै आएका ग्रुप राइडर्सका सञ्चालक दिपक शर्मा हेल्मेटको व्यापार दिन प्रतिदिन घट्दो मात्रामा रहेको बताउछन् ।
‘हेल्मेट व्यवसायको बजार खस्कदो क्रममा छ,’ उनले भने, ‘सबैभन्दा धेरै प्रभाव अनलाइन बुकिङ्गले पारेको छ ।’

अनलाइनमा व्यापार गर्नेहरु फोटोसप गरेका आकर्षक फोटोहरु अनलाइनमा ग्राहक झुक्याउने गरेको पनि उनको आरोप थियो ।

‘उनीहरुलाई भाडा तिर्नु पर्दैन्, जसरी हुन्छ राम्रो फोटो हाल्ने र ग्राहक तान्ने उनीहरुको लक्ष्य हुन्छ,’ शर्माले भने ।

प्रतिस्पर्धा धेरै

बाइकर्स मार्ट नेपालका व्यवसायी दिपेन्द्र वि.सी. भने यस क्षेत्रमा प्रतिस्पर्धा धेरै हुदै गएको बताउँछन् । उनले त्रिपुरेश्वरमा हेल्मेट व्यवसाय गर्न थालेको समयमा भन्दा अहिले धेरै प्रतिस्पर्धा भएको उनको भनाइ छ ।

‘पहिले यस्तो समस्या थिएन पछिल्लो समय धेरै नै प्रतिस्पर्धा बढ्न थालेको छ,’ उनी भन्छन्, ‘महिनाको भाडा मात्रै १ लाख बुझाउनुपर्छ, यो स्थानमा हेल्मेट व्यवसाय चलाएर बस्न सक्नु मात्रै पनि धेरै ठुलो कुरा भएको छ ।’

कस्ता हेलमेट बढी बिक्री हुन्छ ?

व्यवसायीहरुको अनुसार नेपालमा सबैभन्दा धेरै बिक्ने हेल्मेट ‘स्टिल वान’ हो ।

यस हेल्मेटको नेपाली बजारमा सुरुवाती मूल्य दुई हजार रुपैयाँ रहेको छ । सस्तो पनि र राम्रो भएको कारण धेरै मानिसहरुको रोजाईमा परेको पनि व्यवसायी बताउछन् ।

यसका साथै यसको तौल पनि कम हुने भएकाले युवतीहरु र उमेर ढल्केका मानिसहरुले पनि धेरै रुचाउँछन् ।

व्यवसायीहरुका अनुसार नेपाली बजारमा दुई हजार रुपैयाँ पर्ने देखि ३० हजार रुपैयाँ माथिका हेलमेट उपलब्ध हुने गरेका छन् ।

मोटरसाइकल हाँक्दा सुरक्षामा पनि ध्यान दिने यूवाहरुले भने ५ –६ हजार रुपैयाँ पर्ने फुल हेलमेट बढी मन पराउने गरेको व्यावसायीहरु बताउँछन् ।

सुधा अटो सपका सञ्चालक राजेश अग्रवाल भन्छन्, ‘धेरैजसो यूवाको पहिलो रोजाई ५ देखि ६ हजार सम्मको हेल्मेट हो ।’

‘मूल्य पनि धेरै नहुने र गुणस्तर पनि राम्रो भएको कारण यूवाहरुको रोजाईमा परेको हो’ उनले भने ।

महंगा हेलमेटका आफ्नै ग्राहक

५–६ हजार रुपैयाँ पर्ने हेलमेट जस्तो धेरै संख्यामा बिक्री नभएपनि महंगा हेलमेट रुचाउने सौखिन ग्राहकहरु पनि छन् । यस्ता ग्राहकहरु खोज्दै खोज्दै भएपनि महंगा र उच्च गुणस्तरका हेलमेट नै किन्ने गर्छन् ।

आफ्नो पसलमा ३२ हजार रुपैयाँ मूल्य भएको ‘एलएसटु एरो कार्वन’ हेल्मेट पनि महिनाको ४÷५ वटा बिक्री हुने व्यवसायी दिपक शर्मा बताउछन् ।

‘कोही सौखिन युवाहरु हुन्छन्, जसले ३२ हजारको हेल्मेट पनि किन्छन्,’ उनले भने, ‘हेर्दा आर्कषक र राम्रो गुणस्तर भएको कारण पनि यूवाहरुको रोजाईमा यो हेल्मेट पर्छ ।’

यस्तो हेल्मेट कार्वन फाइवरबाट बनेको हुन्छ । लगाउँदा सजिलो हुने, बलियो र बाफ नबस्ने भएको कारण यो हेल्मेट खोज्ने उनी बताउछन् ।

त्यस्तै अर्का व्यावसायी दिपेन्द्र विसी पनि आफ्नो पसलमा ३३ हजार ५ सय रुपैयाँ मूल्यको एजीबी हेल्मेट पनि राम्रै संख्यामा बिक्री हुने गरेको बताउँछन् ।

‘यो ब्राण्ड यूरोपको सबैभन्दा बेस्ट ब्राण्ड अवार्ड प्राप्त गरेको ब्राण्ड हो’ उनले भने ‘यो हेल्ममेट मोटो वान रेसिङमा पनि प्रयोग हुन्छ त्यसकारण पनि महङ्गो भएको हो ।’

ब्राण्ड कन्सस ग्राहकहरु महङ्गो भएपनि ब्राण्डेड हेलमेट नै किन्न रुचाउने उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here