दशैं आयो, बुटवलबाट पूर्व या पश्चिममा बसोबास गर्ने पाल्पा, गुल्मी, अघाखाँची, स्याङ्जा, कास्की बागलुङ, पर्वत र मुस्ताङ सम्मका नागरिक घरमा दशैं मनाउन जाने एक विकल्पबिहिन सडक ।
१ सय ८१ किलोमिटर लामो सिद्धार्थ राजमार्गको एक सानो टुक्रा बुटवल प्रवेशद्धारदेखि पाल्पा दोभानसम्म करीव ६ किलोमिटर सडक, जसको शिरमा सिद्धबाबा विराजमान छन् ।
हजारौं भक्तजनले श्रद्धापूर्वक पुज्ने यस भेगमा पहिरोकै कारण वर्षेनी कैयौं मानिस ज्यान गुमाउन बाध्य छन् । यो पिडाले आम यात्रु र जनतालाई जति पोलेको छ, त्यति नै हाइसन्चो नेता र उच्च तहका कर्मचारीलाई छ ।
किनकी पाल्पा, गुल्मी या अर्घाखाँचीमा जन्मिए पनि नेता र उच्च तहका कर्मचारीले बुटवल, पोखरा वा काठमाडौंमा घर ठड्याइसके । उनीहरु अब जाखिम मोलेर सिद्धाबाबाको पाउ हुँदै अगाडी बढ्नु छैन । जनता मरुन या बाचून, त्यो नेतृत्वलाई के मतलव ।
शुक्रबार एका बिहानै दोभान नजिकै एक जना सवारी चालकले अकालमा ज्यान गुमाउनु पर्यो । यो पहिरोले आजसम्म सयौं मानिसको ज्यान लिइसकेको छ ।
सम्भवतः पृथ्वी राजमार्गपछि सबैभन्दा बढी ज्यान जाने सडक क्षेत्रका रुपमा बदनाम भइसकेको छ सिद्धबाबा । कुन बेला कहाँ बाट कस्तो ढुंगा आएर किच्छ ।
कसरी दर्दनाक र भयानक मृत्युको मुखमा पुगिन्छ, त्यो ६ किलोमिटर नकटेसम्म यात्रु र चालकको मनमा आइरहने एक डरलाग्दो परिकल्पना हो ।
यो परिकल्पना त्यो सडकमा यात्रा गरेर वार पार गर्नेहरुले मात्र बुझ्छन् । बुटवल, पोखरा या काठमाडौंका महलमा बसी मोजमस्ती गर्नेले होइन ।
पहिरोका कारण सिद्धबाबा आफै जोखिममा परेको छ । यसतर्फ सरोकारवालालाई मतलव छैन । सिद्धबाबा भगवानको दर्शन गर्न दैनिक करीव ३ हजारको संख्यामा भक्तजन पुग्छन् ।
तर, कहिले अनिष्ट आउने हो र मन्दिर नै पहिरोले बगाउने यो, भक्तजनको मनमा यो त्रास सधै हुन्छ । मन्दिरमा आउनेहरुको त्रास त अलि कम होला ।
किनकी त्यसबेला उनीहरुसँग बच्ने विकल्प होलान । तर, बुटवल पाल्पा सडक खण्डमा यात्रारत गाडी भित्र रहेका यात्रुका लागि यो ६ किलोमिटरको यात्रा हरेक पटक ६ दिनभन्दा बढी लाग्छ ।
हरेक यात्रु हा जोडेर सिद्धबाबा भगवानसँग जीवनको भीख माग्न प्रार्थनारत रहन्छन् । यो पीडा कसले बुझने ? अलौकिक सिद्धबाबाले की अधिकार प्राप्त नेता र सरोकारवालाले ?
साना ठूला गरी दैनिक करीव २ हजार सवारी साधनको नियमित आवागमन हुने राजमार्ग हो सिद्धार्थ । सिद्धबाबा क्षेत्रको मूख्य तीन किलोमिटर सडक खण्ड भित्र १ सय २० हाराहारी साना ठूला पहिलो गएको छ । यसबाट प्रष्ट हुन्छ, यो सडक कति डरलाग्दो छ भन्ने ।
सडक मुनी वर्षायातमा उर्लिएर आएको तिनहुँ नदीको गडगडाहट र माथिबाट विशाल ढुंगाहरुले गिज्याइरहने यो सडक खण्ड २०२८ सालमा खोलिएको हो ।
भारत सरकारको सहयोगमा निर्माण भएको यो सडकखण्ड भारतले जति बनाइदियो, त्यति मै सिमित छ ।
जब यो सडक भूगर्भका हिसावले अनुपयुक्त सावित भयो, यहाँ गाडी गुडेको भूगोलले मनै पराएन त किन आजसम्म विकल्प खोज्न सकिएको छैन ? किनकी जनताको जीवनमाथि राज्य संचालकहरु खेलवाड गरिरहेका छन् ?
वर्षातः नसकिदै शुरु भएको दशैंका बेला यो सडक खण्डको यात्रा सबैभन्दा कष्टकर हुन्छ । सडकमा पहिलो आलै हुन्छ भने जुनसुकै बेला माथिबाट ठूल्ठूला पहिलो आएर सवारी साधन किच्न डर रहन्छ ।
अझ पहिरोका कारण सडकमै थुनिनु पर्यो भने त्यो क्षण बलि दिन राखेको पशुको भन्दा पनि दयनीय हुन्छ । सिद्धार्थ राजमार्गको यो ६ किलोमिटरमा मात्र वर्षेनी पहिरो हटाउनकै लागि ५० लाख भन्दा बढी खर्च हुन्छ ।
बुटवलबाट पोखरा जाने पर्यटकीय सडक पनि सिद्धार्थ राजमार्ग हो । धेरैजसो भारतीय पर्यटक लुम्बिनी आउँछन् र त्यहाबाट पोखरा जान खोज्छन् ।
तर, यस सडक खण्डको पहिलो दर्शनबाटै उनीहरुले नेपाली सडकको सास्तीको अनुभव लिइसकेका हुन्छन् ।
लामो समयदेखि यस सडक खण्डको विकल्पमा सुरुङ बनाउने, सडक पारी अर्को ट्रयाक खोल्ने या अन्य विकल्प खोज्नेबारे धेरै चर्चा भएपनि उपलब्ध शून्य छ । नेताहरु केवल चुनावी नाराका लागि मात्र सिद्धबाबा पहिरोलाई चर्चामा ल्याउने गर्छन् ।