विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

काठमाडौं । विश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो ।

४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्‍व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

बैठकको उद्‍घाटन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । आगामी ३ वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने बताइएको छ ।

सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्‍व वैंक समेतका सहयोगमा नेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरूको समेत स्थलगत भ्रमण हुनेछ ।

नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाबारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैंकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्‍न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त बैठकमा सहभागिताका लागि हालसम्म विभिन्न देश तथा विश्व बैंकबाट करिब १ सय ५० जनाभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बाँकी आजै आइपुग्ने बताइएको छ ।

यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्रथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

बैठक भव्य रुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता अर्थमन्त्री वर्षमान पुनले जनाएका छन् ।

विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको उनले सराहना गरे ।

उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै उनले वित्तिय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने विश्वास व्यक्त गरे ।

सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक ९एलसीडी० मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे ।

उनले २१औं आईडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे ।

फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे ।

जवाफमा विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए ।

नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here