काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र “उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी” शीर्षकमा भएको सामूहिक छलफलमा बोल्ने वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।
इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकिले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताए । उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।’
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनले बताए । उनले थपे, ‘सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टीकल एजुकेशनलाई अगाडि बढाएर ११र१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ ।’
युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रुपमा लिनुपर्ने उनको राय छ । ‘अवसर चुनौतीको रुपमा आउने र चुनौती आउनेवित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ, उनले भने, अरुले के सोचिरहेका छ भन्ने कुरा आफूले सोचेर उद्यम सुरु गर्न सक्यो र त्यसलाई गहनरुपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप सुरु गर्न त्यति गाह्रो काम पनि छैन ।’
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डीन प्रा। डा। महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तफबाट काम गरिरहेको पनि उनले जानकारी गराए । सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ,’ उनले भने । योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताएका छन् ।
जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याएका छन् । कक्षा कोठाको पढाइ र व्यवहारमा लागु गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए ।
उनले थपे, ‘उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो आइडीयाको मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।’
त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने उनले बताएकी छन् । उनले थपिन्, ‘सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।’