नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकारको प्रंमुख

काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको हो।

राष्ट्रपतिले मङ्गलवार संसद् विघटन गरेका छन्। हाल ८४ वर्षका युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन्।
पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।

गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्‌बाट हसिना पुनः प्रधानमन्त्री बनेकी थिइन्। विद्यार्थीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदा बाङ्ग्लादेशमा ४०० जना भन्दा धेरैको मृत्यु भएको थियो।

विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका थिए। मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाए। उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुग्यो।

चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए। उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे। उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत ब्याङ्कहरूले दिने गरेका थिएनन्।

उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए। सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण ब्याङ्क भयो। यो ब्याङ्कले बाङ्ग्लादेशभरि व्यापक परियोजनाहरू सुरु गर्‍यो त्यसमध्ये केही नाफामुखी र केही गैर नाफामुखी थिए। उक्त ब्याङ्कको लगानीमा सुरु भएका परियोजनाहरूमध्ये कुनै कपडा उद्योग कुनै मोबाइल टेलिकम सम्बन्धी र केही ब्रोडब्यान्ड इन्टरनेट सम्बन्धी थिए।

आफ्नो कामको सफलता र अन्तर्राष्ट्रिय स्तरबाट पाएको मान्यताले युनुसलाई पछ्याइरहे। जसको परिणाम आफ्नो वित्तीय योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पाए। उनले चर्चामा ल्याएको उक्त अवधारणा अरू विकासोन्मुख देशहरूका लागि पनि नमुना परियोजना बनेका थिए।
BBC

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here