काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै सार्वजनिक क्रेडिट रेटिङ नतिजाले वाह्य लगानी बढाउने बताएका छन् ।
अर्थ मन्त्रालयमा सोमबार विकास साझेदाहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको भन्दै यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै वाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।
दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको उनको दाबी छ ।
अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने बताए । प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको, मुलुकको वाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा रहेको उनले बताए ।
चालु वर्षमा आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको भन्दै उनले सरकारले पूर्वाधार विकास, मानव संशाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको बताए ।
चालु खाताको सन्तुलन, विद्युत् निर्यातमा उत्साहजनक वृद्धि, विप्रेषणमा वृद्धि र पर्यटकहरूको बढ्दो आगमन संख्या लगायत कारण मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्दै गएको उनले बताए ।
सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले लामो समयसम्म दिगो बनाइराख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए ।
नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालन सम्बन्धी नयाँ कानुन बनाउने प्रकृया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गरे ।
सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सार्वजनिक लगानीमा र हरित अर्थ व्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको जानकारी बताए ।
राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागु गर्न प्रतिबद्ध भएको भन्दै पौडेलले विकासका सबै प्रयासका लागि वित्तीय स्रोत जुटाउन आन्तरिक प्रयासहरू पर्याप्त नभएको उल्लेख गरे ।
विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्त्वपूर्ण आधारशीला भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुने गरी साझा प्रयासहरूलाई अगाडि बढाउन विकास साझेदाहरूलाई आग्रह गरे ।
कार्यक्रममा विकास साझेदारका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । उनीहरूले क्रेटिड रेटिङको नतिजाले नेपालमा वाह्य लगानीलाई थप आकर्षण गरेको बताएका थिए ।