उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

फाइलफोटो

काठमाडौं १७ कात्तिक । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न भएको छ।

जिल्लाभरमा लाखौं भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ।

यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ। व्रतालुले इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here