वैदेशिक रोजगारीमा बर्षेनी करौडौं ठगी,हजारौंको बिल्लीबाठ

जितेन्द्र खनाल-

काठमाडौं, २७ कात्तिक । नेपाली अर्थतन्त्रको मेरुदण्ड भनिने ‘रेमिटेन्स’ भित्र्याउने वैदेशिक रोजगार व्यवसायभित्र वर्षेनी ठगी प्रकरण मौलाउँदै गएको छ ।

प्रलोभनमा पारेर वर्षेनी करौडौं ठगी र हजारौंको बिल्लीबाठ बनाई रहेको तथ्याङकले देखाएको छ । ठगिनेमा शिक्षित वर्गदेखि सोझा केही नबुझेका मानिसहरु समेत रहेका छन् ।

राम्रो पैसा र रोजगारको प्रलोभनमा पार्दै उनीहरुबाट पैसा लिने र सम्पर्क विहिन हुने क्रम बढ्दो छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्याङक अनुसार ४ वर्षमा १ हजार ६ सय ४९ मानिसहरु ठगीमा परेका छन् । उनिहरुबाट १ अर्ब ८ करोड ५ लाख ५३ हजार ३ सय ५५ रुपैयाँ ठगी भएको थियो ।

४ वर्षमा १ हजार ६ सय ४९ जना ठगिए

महानगरीय प्रहरी अपराध महाशाखामा पछिल्लो ४ आर्थिक वर्षहरु (आ.व.२०७२-७३, २०७३-७४, २०७४-७५, २०७५-७६) मा वैदेशिक रोजगारका क्रममा ठगी भएको भनेर १ हजार १४ वटा निवेदनहरु परेका छन् ।

यी चार आर्थिक वर्षमा १ हजार १४ निवेदनमा १ हजार ६ सय ४९ जना ठगीमा परेका थिए । यी १ हजार ६ सय ४९ मानिसहरुबाट ४ वर्षमा १ अर्ब ८ करोड ५ लाख ५३ हजार ३ सय ५५ रुपैयाँ ठगी भएको थियो ।

३ सय ५१ मुद्दा मात्रै समाधान

महाशाखा टेकुको तथ्यांक अनुसार पछिल्ला ४ आर्थिक वर्षहरुमा परेको १ हजार १४ मुद्दाहरुमा ३ सय ५१ मुद्दाहरु मात्रै समाधान भएका छन् ।

कुल १ हजार ६ सय ४९ मानिसहरुको १ अर्ब ८ करोड ५ लाख ४३ हजार ३ सय ५५ रुपैयाँ ठगी भएकोमा जम्मा २३ करोड ९८ लाख ६ हजार ७ सय ५५ रुपैयाँ मात्रै रकम फिर्ता भएको छ ।

कतिले प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी नगर्ने बाहिरै कुरा मिलाउने र कतिपयको उजुरी सुन्ने निकायसम्म पहुँच पनि नहुने हुनाले ठगिने वास्तविक नेपालीको संख्या योभन्दा धेरै ठूलो हुनसक्ने अनुमान छ ।

८४ करोड अझै उठेन

पछिल्ला ४ आर्थिक वर्षहरुमा कुल १ अर्ब ८ करोड ५ लाख ४३ हजार ३ सय ५५ रुपैयाँ ठगी भएकोमा २३ करोड ९८ लाख ६ हजार ७ सय ५५ रुपैयाँ मात्रै फिर्ता भयो ।
अपराध महाशाखाको यो तथ्यांकलाई मात्रै आधार मान्ने हो भने अझैपनि ८४ करोड ७ लाख ४६ हजार ६०० रुपैयाँ फिर्ता हुनै बाँकी छ ।

ठगीको अर्को केन्द्र कन्सल्ट्यान्सी

वैदेशिक रोजगारका नाममा ठगी धन्दा चलाउनेमा म्यानपावर एजेन्सीहरू मात्र छैनन्, एजुकेशनल कन्सल्ट्यान्सी र तिनका एजेन्टहरूको मनपरी पनि उस्तै छ । विद्यार्थीको रूपमा यूरोपदेखि अमेरिकासम्म पठाएर आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिंदै ठगी गर्ने कन्सल्ट्यान्सीहरूको संख्या उत्तिकै ठूलो छ ।

लाखौ रकम बुझाएर पनि ‘घर न घाट’

वैदेशिक रोजगारसम्बन्धी ठगीको कारण कतिपयको ‘घर न घाट’को अवस्थामा पुग्ने गरेका छन् । लाखौ रकम बुझाएर धेरै कमाउने प्रलोभनमा पार्दै ठगहरुले तिनीहरुको सपना सडकमा ल्याएर छाड्ने गरेका छन् ।

मुद्दाका पीडित अदालत जाने आँटै गर्दैनन् । अदालत पुगेका र फैसला भएका थोरै मुद्दामा पनि पीडितले न्याय पाउँदैनन् । लामो दौडधूपपछि मुद्दा दर्ता भए पनि अन्तिम फैसला हुन वर्षौं लाग्छ ।

त्यसो हुँदा चर्को व्याजदरमा ऋण काढेर विदेश जान खोजेका पीडितहरू अदालती प्रक्रिया चलिरहँदा नै सडकमा पुग्ने गरेका छन् ।

प्रहरीलाई पूर्वधारकै कमी

निवेदन परेका मध्ये १ चौथाई पनि ठगहरु पक्राउ गर्न नसक्नुमा पूर्वधारको कमी मुख्य रहेको अपराध महाशाखा टेकुमा वैदेशिक ठगी मुद्दामा काम गर्ने कर्मचारी आत्माराम थापाले बताए ।

‘हामीसँग प्रयाप्त पूर्वधारको नै छैन्, त्यसमाथी देशका सबै स्थानबाट वैदेशिक ठगीको मु्द्दामा मानिसहरु टेकु नै आउँछन्’ थापाले भने ‘हाम्रो टिम सानो छ, तरपनि हामी हाम्रो सम्पुर्ण शक्ति प्रयोग गर्दै ठगहरु पक्राउ गर्दैछौं ।’

यस्तो छ तथ्याङक

वैदेशिक रोजगारीमा थरिथरिका ठगी, कस्ता पर्छन् ठगीमा ?