सिंहदरबारको ‘एक्सन रुम’ बाटै माथिल्लो त्रिशूली थ्री ए को उद्घाटन

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘एक्सन रुम’बाट बाट स्वीच थिचेर ६० मेगावाटको त्रिशूली थ्री ’ए’ जलविद्युत परियोजनाको उद्‍घाटन गरेका हुन् ।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले यो परियोजनाको शुरुवात सागै ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को नाराले सार्थकता पाएको जानकारी दिए ।

काठमाडौंबाट प्रधानमन्त्री ओलीले र निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा उदघाटन गरेका हुन्।

उद्घाटनसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा ३०/३० मेगावाट गरी ६० मेगावाट जलविद्युत् क्रमशः जेठ ३ र साउन १७ गतेबाट परीक्षण उत्पादन शुरू गरिएको थियो ।

लामो प्रयास र मिहेनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कहिले क्षमता वृद्धि, कहिले गोरखा भूकम्प तथा कहिले निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण समस्यामा फसेको र प्राधिकरणको समेत टाउको दुखाइको विषय बन्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन गरेको थियो।

लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ। रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामकारवाही परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो।

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ। अनुमानित लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।

इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

शुरुमा विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत चिनियाँ कम्पनीसँग रु आठ अर्ब ९१ करोड ७८ लाख (आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो।

शुरुमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

आयोजनाले स्जियार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here