३० करोड मानिस दम रोगबाट प्रभावित,जाडोमा यसरी जोगिनुहोस्

काठमाडौं । जाडो महिनामा दमको समस्या बढि हुने गरेको पाईन्छ । चिसो बढेसँगै रुघाखोकी, टन्सिल संक्रमण, फ्लु, विन्टर डाइरिया गराउने जस्ता रोगहरूको प्रकोप सुरु हुन्छ ।

तुलनात्मक रूपमा पनि जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । यो समयमा मुटु, जोर्नी तथा फोक्सोका दमजस्ता नसर्ने दीर्घ रोग भएका बिरामीलाई बढी प्रभावित पार्छ ।

जाडो सुरु भएपछि दमको उपचार गर्नेको संख्यामा पनि ह्वात्तै वृद्धि हुने गर्छ । यसको मुख्य कारणको रुपमा वायुप्रदुषण रहेको छ । यसबाट बालबालिका तथा बृद्धबृद्धाहरु सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन का अनुसार बालबालिका लगायत ३० करोड मानिसहरु दमबाट प्रभावित छन् । विशेषगरी नेपालको पहाडीभेगमा स्वस्थ्य शिक्षाको अभाव, असन्तुलित खानपान, लामो समयसम्म खोकी लागेपनि हेलचेक्र्याइ आदिका कारण दमबाट मृत्युहुनेको संख्या बढेको पाइन्छ ।

दम नियन्त्रण गर्ने विभिन्न औषिधि बजारमा पाइन्छ । तर, यी सबै औषधि चिकित्सकको सल्लाहअनुसार मात्र किनेर प्रयोग गर्नु पर्छ ।

कुनै रोग लागेर औषधि प्रयोग गर्नुपरे चिकित्सकलाई आफ्नो स्वास्थ्यसम्बन्धी अवस्था र प्रयोग गरिरहेको औषधिबारे जानकारी गराउनु पर्छ ।
त्यस्तै, आफूलाई के कारणले दम बढ्ने गर्छ भन्ने पत्ता लगाएर त्यसबाट बच्नु पर्छ ।

के हो दम रोग ?

दम रोगमा श्वास नली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। त्यसले गर्दा फोक्सोमा हावा जान कठिनाइ हुन्छ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्यालाई दम भनिन्छ।

दमको लक्षण

सामान्यतयाः वायु प्रदुषण तथा एलर्जीका कारण हुने आस्थमा उपचारबाट निको पार्न सकिन्छ । तर खोकी लाग्दालाग्दै पनि त्यसको उपचारै नगरी, स्वाँ-स्वाँ हुने, छाती कराउने अवस्थाको सिर्जना भएमा क्रोनिक आस्थमा हुने गर्दछ ।

बच्चाहरुमा भाइरल संक्रमणका कारण ब्रोनकाइटिस भएमा पनि आस्थमा जस्तै लक्षण हुने गर्दछन् ।

हाछ्यूँ आउने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने यसका प्रमुख लक्षण हुन् ।

यसरी रोकथाम गर्न सकिन्छ दम

चिसोबाट बच्नुपर्छ । जाडो समयमा दमले बढी सताउने भएकाले आफु बस्ने घर र कोठालाई न्यानो बनाउने र आफुले लगाउने लुगा पनि न्यानो हुनुपर्छ ।

दम छाती रोगका कारण नै हुने गर्छ । बाल्यकालमा छातीमा सङ्क्रमण देखियो भने त्यसलाई पूर्ण औषधि उपचार गराउनुपर्छ ।

दम हुने मानिसले दाउराको चुलो, धुवाँ र धुलोबाट टाढा नै रहनुपर्छ । बाहिरी वातावरणको धुलो नलागोस् भनेर माक्स लगाएर हिँडडुल गर्नुपर्छ ।

यदि चुरोट तान्ने बानी छ भने पनि त्यसले फोक्सोमा नराम्रो असर पार्छ । त्यसैले चुरोट खानु हुँदैन र खाने मानिसको वरिपरि बस्यो भने त्यसबाट आउने धुँवाले फोक्सोमा सङ्क्रमण गर्न सक्छ । त्यसैले हामीले फोक्सोलाई जहिले पनि स्वस्थ राख्न सकिएको खण्डमा दम रोगबाट बच्न सकिन्छ । यदि कुनै मानिसलाई छातीमा सङ्क्रमण भएमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here