ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान स्वीकृति,सबैभन्दा ठूलो बैंक बन्ने

काठमाडौं,१२ मंसिर । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर टुङगिएको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको विहिवार बसेको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

ग्लोबल आईएमई र जनता बैंकले मंसिर भित्रै एकिकृत कारोबार सुरु गर्ने तयारी थालेका छन् । यी बैंकले एकिकृत कारोबार (अन्तिम स्वीकृति) का लागि गत साता नै राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

मर्जरका लागि यी बैंकले गत असारमा सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने छ ।

सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आइएमइका अध्यक्ष चन्द्रप्रसाद ढकालले नै रहनेछन् । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहने सहमति भएको छ ।

मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री रहने छन् । कुँवर हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने छन् ।

सबैभन्दा ठूलो बैंक बन्ने

दुई बैंकबीच एकिकृत कारोबार सेवा सुरु भएसँगै नेपालमै सबैभन्दा ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज हुँदा बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करो ५ लाख रुपैयाँ रहेको छ । बैंकको भर्खरै सम्पन्न साधारणसभाबाट लगानीकर्तालाई वितरण गरिएको १२ दशमलव ५ प्रतिशत बोनस सेयरसँगै चुक्ता पूँजी बढेर ११ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ पुग्ने छ ।

यसैगरी जनता बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैयाँ रहेको छ भने ६ प्रतिशत बोनस सेयर पश्चात पूँजी बढर ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुग्ने छ ।

मर्जरसँगै बैंकको चुक्ता शाखा संख्या करिव ३ सय पुग्नेछ भने २६० भन्दा एटीएमको संख्या २६० भन्दा बढि हुनेछ । यस्तै शाखारहित बैंकिङ सेवा केन्द्र २४५ पुग्नेछ भने एक्सेन्सन काउण्टरको संख्या ३३ वटा हुनेछ । साथै कर्मचारी संख्या पनि ३ हजार ३ सय जनाभन्दा बढि हुनेछ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच तथा लघुवित्त वित्तीय संस्थाहरुबीच गाभ्नेरगाभिने तथा प्राप्तिलाई प्रोत्साहित गर्न विभिन्न नीतिगत ब्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

२०७६ असोजसम्म कुल १ सय ७८ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १ सय ३५ संस्थाको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आइएमई र जनता बैंकको मर्जर अन्तिम चरणमा, आउँदो साता अनुमति पाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here