बीमा व्यवसायको प्रचारमा कडाइ,ग्राहकले पाउने सुविधामा अंकुश

काठमाडौं, २४ मंसिर । बीमा समितिले बीमा कम्पनीहरुका लागि ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन-२०७६’ जारी गरेको छ ।

बिमकले विभिन्न संस्थाहरूसँगको सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा एवंम् बीमा व्यवसायको प्रचारप्रसार गर्दा एकरुपता कायम गरीबीमा जोखिमांकन कार्यलाई व्यवस्थित बनाउन मार्गदर्शन जारी गरेको समितिले जनाएको छ ।

नीतिगत मार्गदर्शनमा समितिले बीमा व्यवसायको प्रचारप्रसारमा पनि कडाइ गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सित्तैमा बीमा सुविधा दिने भनेर प्रचार गर्ने गरेका छन् ।

तर, त्यो ग्राहकका लागि सित्तैमा भए पनि उनीहरूले सम्बद्ध बीमा कम्पनीलाई तोकिएको शुल्क तिरेका हुन्छन् । तसर्थ, यस्तो बीमाबापात लाग्ने प्रिमियम संस्था स्वयंले नै बेहोर्ने भनी प्रचार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

बीमांकले अधिकतम हद कायम गर्नुपर्ने सीमा निर्धारण

समितिले बीमांकले अधिकतम हद कायम गर्नुपर्ने सीमापनि निर्धारण गरेको छ । मार्गदर्शन अनुसार जीवनबीमा कम्पनीहरुले घातक रोगको बीमाङ्कको हद १० लाख रुपैयाँ र औषधोपचारबीमा पूरक करारको हद एक लाख रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि नयाँ बीमालेख जारी गर्दा वा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मुल बीमालेख जारी गर्नेपर्न, बिमितले मूल बीमालेख हेर्न सक्ने गरी व्यवस्था गर्नुपर्ने पनि जारी गरिएको मार्गदर्शनमा भनिएको छ ।

बैंक तथा वित्तिय संस्थाका ग्राहकले पाउने बीमा सुविधामा अंकुश

बैंक तथा वित्तिय संस्थाका ग्राहकले पाउने बीमा सुविधामा अंकुश लगाइएको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ग्राहकहरुलाई बीमा सुविधा दिँदै आएका थिए । अब भने बीमा कम्पनीले तोकिएको सिमामा रहेर त्यस्ता संस्थाका ग्राहकहरूको बीमा गर्नुपर्ने भएको छ ।

हालसम्म बैंक तथा वित्तिय संस्थाहरूले बीमा कम्पनीहरुको सहकार्यमा आफ्ना ग्राहकलाई स्वास्थ्य, दुर्घटना बीमाको सुविधा दिदै आएका छन्, जसलाई बैंकासुरेन्स पनि भनिन्छ ।

बीमा समितिले बैंक तथा वित्तिय संस्था र त्यहाँका ग्राहकलाई नियमन गर्न पाउदैंन । त्यसैले समितिले बीमा कम्पनीलाई नै तोकिएको सिमा रहे यस्तो बीमा व्यवसाय गर्न निर्देशन दिएको छ, जसअनुसार अब बैंक तथा वित्तिय संस्थाले आफुखुसी ग्राहकलाई बीमा सुविधा दिन पाउने छैनन् ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तिय संस्थाका ग्राहकले एक शिर्षकमा १० लाख भन्दा बढीको बीमा सुविधा पाउने छैनन् । उनीहरूले दुर्घटना र घातक रोग बीमामा अधित्तम १०/१० लाख भन्दा बढीको सुविधा पाउने छैनन् ।

यस्तै, औषधोपचार बीमामा पनि एक लाख रुपैयाँ भन्दा बढीको बीमांक बनाउन नपाइने व्यवस्था गरिएको छ । तोकिएको सिमा भन्दा बढीको मात्रामा बीमा गर्नुपर्ने भएमा बीमा कम्पनीले बीमितको जोखिमांकन गर्नुपर्ने बताइएको छ ।

आधिकारिक वेबसाइटमा भ्रमण वर्षको लोगो

समितिले अर्को परिपत्र जारी गर्दै बीमा कम्पनीहरूलाई भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा सहभागी हुन निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार अब कम्पनीहरूले आफ्नो आधिकारिक वेबसाइटमा भ्रमण वर्षको लोगो राख्नुपर्ने छ ।

साथै, कम्पनीहरूले प्रकाशित गर्ने बुलेटिनमा पनि भ्रमण वर्षसँग सम्बद्ध लेखरचना राख्नुपर्ने समितिले स्पष्ट गरेको छ । यस्तै, कम्पनीका प्रतिनिधिहरू विदेश भ्रमणमा जाँदा पनि यस विषयमा जानकारी तथा वक्तव्य दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसका अतिरिक्त पर्यटकको प्रमुख गन्तव्य स्थलमा सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत शौचालय, डस्टबिन, पिउने पानी, विश्रामस्थल जस्ता पूर्वाधारको व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here