देशको अर्थतन्त्रमा सुधार,३६ अर्ब २८ करोडको सामान बाहिरियो

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ४ महिनाको नेपालको आर्थिक परिदृष्य सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक तथ्यांक अनुसार नेपालको आर्थिक परिदृष्य सकारात्मकतर्फ उन्मुख भएको छ । आर्थिक वर्ष २०७६/७७ को चार महिनाको अवधिमा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब २८ करोड पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिको आधारमा नेपालको कुल बस्तु निर्यात २३.९ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो ।

चार महिनामा ४ खर्ब ५० अर्ब ३० करोडको बस्तु आयात हुँदा कुल ३६ अर्ब २८ करोडको बस्तु निर्यात भएको छ। आयात घटेर निर्यात बढ्दै जाँदा व्यापार घाटा पनि घट्दै गएको छ। यस अवधिमा व्यापार घाटा ८.९ प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब २ करोडमा झरेको छ।

तथ्यांक अनुसार सबैभन्दा धेरै भारततर्फ निर्यात बढेको छ । भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ । यसका साथै चीन र अन्य देशको निर्यातमा भने कमी आएको छ । तथ्यांक अनुसार चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

आयात घटेर निर्यात बढ्दै जानु र अन्य अधिकाँश सूचकहरु समेत सकारात्मक देखिनुले देशको अर्थतन्त्र सुधार हुँदै गएको संकेत गर्छ।

आयात पनि घट्यो

आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर रु.४५० अर्ब ३० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here