लगानी सम्मेलनको चहलपहलः कसले के भने ?

काठमाडौं, १५ चैत । लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको बताएका छन् ।

उनले नेपालमा लगानी गरेर लगानीकर्ताले मनग्य प्रतिफल हात पार्न सक्ने बताए ।

उनले भने, ‘लगानीका हिसाबले नेपाल ‘भर्जिन ल्याण्ड’ हो, लगानी सम्मेलनका लागि हामीले ७७ वटा आयोजनाहरु प्रस्ताव गरेका छौं, जुन आयोजनामा लगानी गरे पनि लाभदायक हुन्छ ।’

पर्याप्त लगानी बिना देशको विकास सम्भव नभएको बताउँदै उनले नेपाली जनताको जीवनस्तर उकास्नको लागि ठूलो लगानी आवश्यक भएको बताए । त्यस्तै लगानीकर्ताको नाफा सुनिश्चिताको लागी सरकारले काम गरिरहेको उनले बताए ।

लगानीको लागि सहज वातावरणः अर्थमन्त्री खतिवडा

यसैगरी सम्मेलनमा स्वागत मन्तव्य दिने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा अहिले राजनीतिक स्थायीत्व भएकाले लगानीको लागि सहज वातावरण बनेको बताए ।

निर्वाचन मार्फत तीनवटै तहमा सरकारसमेत गठन भएको र लगानीको लागि झण्झटरहित प्रक्रिया तथा संस्थागत सुधार गर्ने काम भएकाले नेपालमा लगानी लागि राम्रो अवसर भएको बताए ।

स्वदेशी लगानीकर्ता झस्किनु पर्दैनः डा. महत

सम्मेलनका अर्का वक्ता पुर्वअर्थमन्त्री डा.रामशरण महतले देशमा विदेशी लगानी आँउदा स्वदेशी लगानीकर्ता झस्किनु नपर्ने बताए । निजी क्षेत्रमा विदेशी लगानी भित्रिएमा आफु पछि पर्ने डर भएको उनको भनाई थियो ।

विदेशी लगानीकर्ता आउँदा विदेशी पुँजी मात्र नभई प्रविधि समेत आउने र त्यसले अवसर सिर्जन गर्ने उनले बताए । नेपालमा आफ्नो पार्टीले उदारीकरण शुरुवात गरेको र त्यसले निकै सकारात्मक मोड लिएको समेत उनले उल्लेख गरे ।

द्वन्द्व, भूकम्प जस्ता अप्ठ्याराले गर्दा आर्थिक वृद्धि द्रुततर रुपमा गर्न नसकिएको बताउँदै उनले अब ती अवरोधहरु केही पनि नभएको बताए ।

कृषि र पर्यटनमा लगानी गर्नुहोस्ः सूरज वैद्य

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले नेपालमा डाबर, युनिलिभर, एनसेल जस्ता विभिन्न बहुराष्ट्रिय कम्पनीहरु अत्यन्त सफल भएको उदाहरण दिए ।

त्यस्तै उनले नेपालमा कृषिजन्य क्षेत्रमा लगानी गरेमा धेरै मुनाफा लिन सक्ने पनि लगानीकर्ताहरुलाई सुझाए । त्यस्तै पर्यटनमा पनि धेरै सम्भावना भएको उनले बताए ।

यस्तै सम्मेलनका अर्का अतिथि म्यान्मारका विदेश तथा आर्थिक मामिला मन्त्री यू थाउङ टुनले केही वर्षयता दक्षिण एशियाको आर्थिक वृद्धिदर राम्रो भएको र नेपालले पनि राम्रो वृद्धिदर हासिल गर्न सक्ने बताए ।

नेपाल प्राकृतिक स्रोत र साधनमा धनी रहेको बताउँदै उनले कृषिमा आधारित अर्थतन्त्रलाई अगाडि बढाउँदा राम्रो हुने धारणा व्यक्त गरे ।

सम्मेलनमा एशियाली विकास बैंकका उपाध्यक्ष सिछिन चेनले वैंकले नेपालको ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरीरहेको र आगामी दिनमा पनि पूर्वाधार विकासका विभन्न क्षेत्रमा लगानी गर्ने बताए ।

विश्व बैंकका उपाध्यक्ष हर्टविग स्याफरले विश्व बैंक नेपाल सरकारले अगाडि सारेको समृद्धिको योजनालाई सहयोग गर्ने गरी लगानी गर्न तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here