अनलाइन र अफरको पछि उपभोक्ता, सेकेन्ड ह्यान्ड बाइकको बजार खस्कियो

जितेन्द्र खनाल

काठमाडौं, १९ चैत । यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ को अन्त्य सम्ममा मुलुकभर करीब २२ लाख दुई पाङ्ग्रे सवारी दर्ता भएका थिए । गत आर्थिक वर्ष मात्रै ३ लाख ४१ हजार भन्दा बढी बाइक दर्ता भएको कार्यालयको तथ्यांक छ ।

मुलुकको राजधानीदेखि दूरदराजका गाउँहरुसम्म फेशन, सवारी र सामान ढुवानीको भरपर्दो साधन हो मोटरबाइक । शहरी क्षेत्रमा भने यात्रालाई सरल, सहज र छिटो बनाउनका लागि बाइक सबैभन्दा उपयुक्त सवारी साधन हो ।

काठमाडौंका साँघुरा सडकमा जाम छिचोलेर समयमै गन्तव्यमा पुग्नका लागि युवाहरुले बाइक नै प्रयोग गर्न रुचाउँछन् । प्रयोगमा ल्याइने त्यस्ता बाइक नयाँ मात्र नभएर रिकण्डिसन पनि हुन्छन । त्यस्ता रिकण्डिसन बाइकले मोटरसाइकलका प्रयोगकर्ता र पारखीलाई सस्तो दरमा खोजेको बाइक मात्र मिलेको छैन, त्यसको व्यवसायसमेत विस्तार भएको छ ।

रिकण्डिसन बाइकका शोरुमले युवाहरुलाई उचित मूल्यमा खोजेको ब्राण्डको बाइक उपलब्ध गराइरहेको बताउँछन् ।

त्यस्ता रिकण्डिसन पसलहरु काठमाडौंका कलंकी, टेकु, वानेश्वरलगायत स्थानहरुमा रहेका छन् । कम लगानी र स्रोत हुने व्यक्तिहरुका लागि रिकण्डिसन मोटरसाइकल प्रमुख आर्कषण बन्ने गरेको रिकण्डिसन व्यवसायीहरु बताउँछन् ।

त्यस्तै, भर्खरै मोटरसाइकल सिक्न थालेका युवाहरुले पनि बढी मात्रामा रिकण्डिसन बाइक प्रयोग गर्ने गरेका छन ।
व्यवसायीका अनुसार सेकेण्ड ह्याण्डमा सबैभन्दा धेरै बिक्री हुने बाइक पल्सर १५० हो ।

रिकण्डिसन मोटरसाइकलको प्रयोग २० वर्षदेखि ५० वर्षसम्मका व्यक्तिहरुले गर्ने गरेका छन । त्यस्तै रिकण्डिसन सेण्टरमा होन्डाका स्कुटर, साइन, पल्सर २२०, अपाचे आदि मोटरसाइकलहरुको पनि धेरै खरीद बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन ।

खासगरी दशैं तिहारमा रिकण्डिसन मोटरसाइकलको व्यापार बढी हुने गरेको छ । अरु बेला महिनामा ४/५ बाइक बिक्री गर्ने शोरुमले पनि दशैंमा ५० वटा सम्म बिक्री गरिरहेका हुन्छन् ।

दशैंको समयमा मात्रै करीब ४० देखि ५० लाख रुपैयाँसम्मको व्यापार हुने सोभित बञ्जाराले जानकारी दिए । उनी विगत पाँच वर्षदेखि रिकण्डिसन व्यवसायमा संलग्न छन् ।

इण्टरनेटले खाँदैछ शोरुमको व्यवसाय

पछिल्लो समय सेकेण्ड ह्याण्ड बाइकको बिक्री पनि अनलाइनबाटै हुने गरेको छ । हाम्रो बजार जस्ता अनलाइन प्लाटफर्मबाट मोटरसाइकल किन्ने किन्ने चलन बढेको छ ।

इण्टरनेटबाट मोटरसाइकल धनीबाट सीधै किन्न पाइने भएकाले पनि त्यसको आकर्षण बढेको हो ।

अनलाइन सेवा र नयाँ मोटरसाइकलमा दिइने विभिन्न प्रकारका छुट र विज्ञापनका कारण रिकण्डिसन मोटरसाइकल व्यवसाय सुस्ताउँदै गएको छ । व्यवसायीका अनुसार ग्राहक रिकण्डिसन शोरुमसम्म धाउने क्रम नै घटेको छ ।

‘कहिलेकाहीँ त मोटरसाइकल रिकण्डिसन व्यवसाय छाडेर मःम व्यवसाय गर्नुपर्छ कि भन्ने लाग्छ,’ कलंकीस्थित माँ अन्नपूर्ण रिकण्डिसनका व्यवसायी मचा काजीले भने ।

चलाख ग्राहक

पहिलेको तुलनामा मोटरसाइकल रिकण्डिसन क्षेत्रमा प्रतिस्पर्धा धेरै बढेको छ भने ग्राहक पनि झन सचेत र जानकार बनेका छन् । घरैपिच्छे मोटरसाइकल हुनुले पनि त्यसबारेमा जानकारी लिन मानिसहरुलाई सजिलो बनेको छ ।

‘पहिलेका ग्राहक हामीले जुन मोटरसाइल देखायो त्यही किन्थे, तर आजभोलिका ग्राहक आफूले कुन बाइक किन्ने भन्नेकुरा पहिले नै तयारी गरेर आउँछन्,’ रविभवनस्थित चण्डेश्वरी इण्टरप्राइजेजका मुक्तिनारायण श्रेष्ठले भने ।

रिकण्डिसनका बाइक किन्दा ग्राहकहरुले त्यसको लट, माइलेज र मूल्यजस्ता कुराहरुको जानकारी लिने गरेको व्यवसायी राजेन्द्र तिमल्सिना बताउँछन् ।

खुम्चियो नाफा

प्रतिस्पर्धात्मक बजार र चलाख ग्राहकका कारण कहिलेकाहीँ घाटा खाएरै बाइक बिक्री गर्नुपरेको पीडा पनि व्यवसायीसँग छ ।

‘१० रुपैयाँको चुरोटमा देखिदेखि ५ रुपैयाँ नाफा खान्छन् तर हामीलाई लाखौं लगानी गरेर पनि ५–१० हजार रुपैयाँ नाफा खान गाह्रो छ,’ अर्का एक व्यवसायीले भने ।

करीब ४० हजार रुपैयाँ सटर भाडा र २० हजार रुपैयाँ स्टाफ खर्च कटाएर बाँच्नै गाह्रो परेको रिकण्डिसन व्यवसायी बताउछन् । ‘यस्तै अवस्था रहने हो भने पसल बेचेर विदेश जानुको विकल्प छैन,’ व्यवसायी प्रदिप ढकालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here