समय सन्दर्भ: कसरी बन्छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ ?

आनन्द ढकाल

प्राचीन समयमा एक जना अति पराक्रमी राजा थिए । उनले रानीको जन्मदिनको लागि अति सुन्दर र अत्यन्तै महंगो मणिमाणिक्य जडित हिराको हार उपहार दिएका थिए ।

एक दिन रानीले आफ्नो गलाको उक्त अत्यन्त प्रिय र सुन्दर हार निकालेर हेर्दै थिइन कि त्यही वेलामा भोकले रन्थनिएको एउटा काग आयो र सुर्यको प्रकाश ले चम्कदै गरेको हारलाई खाने कुरा सम्झिएर रानीको हातबाट हार खोसेर लग्यो ।

अनि केही पर एउटा रुखको हाँगोमा बसेर ठुँग मार्न लाग्यो , जति प्रयास गरेपनि उसले हार खान सकेन , उसले सम्झ्यो यो खानेकुरा होइन रहेछ । उक्त हारलाई त्यही झुन्डिएको अवस्थामै छोडेर काग खानेकुरा खोज्न त्यहाँबाट उडेर गयो ।

रानीको उक्त हार प्राण भन्दा प्यारो थियो ,कागले हार लगेपछि दरवारमा हल्लाखल्ला भयो ,उनले राजालाई जसरीपनि उक्त हार खोजेर लेराउन लगाउन जिद्दी गर्न लागिन । हार नपाएसम्म खानापिना नै छोड्ने अडान लिइन्।

राजाले त्यस्तै दोश्रो हार बनाउन लगाउँछु भन्दा पनि मानिनन् । रानीको हठ् अगाडि राजाको केही लागेन । र उनले घोषणा गरे कि जसले रानीको उक्त हार खोजेर लेराउँछ उसलाई आधा राज्यको उत्तराधिकारी बनाँउछु । दरवार भित्र र बाहिर सवैतिर राजाको घोषणा जारी भयो ।

सर्वसाधारण सहित राजाका कर्मचारी सवैजनामा आधा राज्य पाउने लालच ले हार खोज्न भाग दौड नै चल्यो । दिनभरको चर्को घाम ,भोक प्याषले थकित भएका तर आधा राज्य पाउने मीठो सपना देख्ने २/३ जनाले हारलाई नालीको थोरै पानी जमेको ठाउँमा चम्किरहेको देखे ।

नालीबाट अत्यन्त कडा दुर्गन्ध आइरहेको थियो ,छेउमा जान सक्ने अवस्था नै थिएन ।तरपनि राज्यभोगको अति लालच ले दायाँबायाँ हेर्दै नहेरी नालीमा फालहाले र अघि हार देखिएको ठाँउमा हात हालेर फोहोर सोहोर्न लागे ,हार भेटिएन ।नालीमा हार भएको कुरा चारैतिर फैलियो, सवैजना त्यहाँ आइपुगे र कतै पनि नहेरि तिव्र दुर्गन्ध को परवाह नगर्दै ठेलमठेल गर्दै हार खोज्न लागे ।

माथीबाट हेर्दा हारको चमक त देखिन्थ्यो तर नालीको हिलोमा कस्तै प्रयास गर्दा पनि हार भेटिएको थिएन। त्यहाँ लाखौं मानिस जम्मा भए, मानौँ त्यहा ठूलो मेला लागेको छ,आधा राज्य भोग्ने लोभले आफुलाई सुरवीर ठान्ने केही लालची मानिस सहित राज्यका विभिन्न पेशा र तहका मै हुँ भन्ने केही व्यक्तिहरूले पनि सक्दो कोशिश गरे ,हिलोको कण कण केलाए , तर हार भेट्न सकेनन् । कारण थियो शहरभरिको फोहोर बग्ने नाली ,तिव्र दुर्गन्ध, आँखा चिम्लनु पर्ने भयावह स्थितिको हिलो ।

यो खवर राजाकहाँ पुग्यो ,राजालाई मनमा डर पस्यो र सोच्न लागे कि कतै फेरि हार भेटियो भने त आफ्नो वाचा अनुसार आधा राज्य दिनुपर्नेछ ।त्यसैले म आफै हिलोमा पसेर हार किन नलेराउँ? राजा पनि नालीमा पसे हार भेट्न सकेनन्।

यत्तिकैमा त्यही बाटो हुँदै एकजना संत आउँदै थिए, मानिसहरूको शरीर नालीको हिलोले पुरै ढाकिएको थियो ,अति दुर्गन्ध ले वातावरण नै भयानक भइरहेको थियो ।आफ्नो नाक छोप्दै संतले सोधे यहाँ आज किन नालीमा पस्ने परम्परा या मेला लागेको हो र ?

त्यहाँ उपस्थित मानिसहरूले सवैकुरा भने । संत उनिहरूको त्यो कुरा सुनेर हाँस्न लागे , संत हाँसेको देखेर राजा सहित हिलोमा जाने सवैले संतले आफुलाई अपमान गरेको महसुस गरे । संतले उनिहरूको भाव बुझेर भन्छन् कि यहाँ उपस्थित मध्ये तपाइँहरू सवैले खाली नालीमा हारको चमक मात्र देख्नुभयो ।

तर कसैले पनि माथीतर्फ हेर्नू भयो ?? हेर्नुस् … माथी …रुखको हाँगामा हार झुन्डिएको छ ,त्यसैको छाँया नालीमा जमेको पानीमा परेको र सुर्यको प्रकाश परेर टल्किएको हो ।सवैले माथी हेरे, हार हाँगामा लत्रीरहेको थियो ।मानौँ त्यस झुन्डिएको हार ले हरेक व्यक्तिलाई गिज्याइरहेको थियो ।त्यहा उपस्थित सवैजना सहित राजा लाज र शर्मले पानी पानी भएर शिर निहुराएर वसे ।

हालको परिस्थिति करिव करिव त्यही घटना जस्तै छ ,मात्र समय र पात्र बदलिएका हुन् । वानी व्यहोरा उस्तै छ। अझ अहिले को सन्दर्भमा भन्नुपर्दा वास्तविक हार देखाउने तिनै संत जस्ता सत्पात्रलाई नै त्यही दुर्गन्धित हिलोमा पछार्न उद्यत छन अहिलेका सुरवीरहरू। विदेशीले देखाएको विकास रुपी ललिपप को लालचमा परेर कतै हामी पनि कहिल्यै उत्रन नसक्ने पराइधनको दलदलमा त डुब्दैछैनौ ?

विदेशीले (परधनबाट )गरिदिने भनेको विकासमा हामी जुन सुख-शान्ति,वैभवता र आनन्द को कल्पना गर्छौ वास्तवमा त्यो विकास भनेको नालीको पानीमा परेको छाँया जस्तो वा आधाराज्य भोग्ने तिनै पात्रहरू को काल्पनिक सुख को लालच जस्तै हो । जसले हामीलाई दिवा स्वप्न रुपी भ्रमको दलदलबाट कहिल्यै माथी उठ्न दिदैन । हामी यहि सोच्छौ कि अमुक देशबाट यति रकम आयो भने त हाम्रो कायापलट नै हुन्छ ।

हामीले कहिल्यै आफ्नो प्राकृतिक सम्पदा को सदुपयोग गर्न जानेनौ वा खोजेनौ ।पराइधन रुपि मोहको बल्छिमा पर्दै हाम्रो आफ्नो पौरखता, उद्यमशीलता , इमानदारीता र नैतिकतालाई बलीवेदीमा चढाउँदै जाने हो भने हाम्रा सन्ततिले स्वतन्त्रता दिवस मनाउन लाखौंको बलिदानी दिनुपर्ने दिन नआउला भन्न सकिन्न ।

यसर्थ हामी बेलैमा सचेत हुन जरुरी छ, आवरणमा सेवामुलक संस्था जस्तो देखिए पनि आन्तरिक रुपमा देशलाई राजनीतिक रुपमा, साँस्कृतिक रुपमा र धार्मिक रुपमा जिर्ण अवस्थामा पुर्याउन उद्यत अधिकांश NGO,INGO को अवैधानिक रकमलाई रोक्न सक्ने हो भने , र

सुखद भविष्यको कल्पना गर्दै पारिवारिक आधारभूत आवश्यकता पूरा गर्नको लागि रोजगारी को सिलसिलामा आफ्नो भएका जायजेथा बन्धकीमा राखेर ५०/५५ डिग्री को तापक्रममा पसिना बगाउने खाडी लगायत अन्य मुलुकमा लाखौंको संख्यामा रहेका सवै नेपालीलाई स्वावलम्बी , सुखी र समृद्ध नेपाल राष्ट्र निर्माण को लागि आह्वान गर्ने हो भने , साथै हामी आफैले आफुसंग वचत भएको रकम मात्र पनि यहीँ लगानी गर्ने वातावरण सुनिश्चित गर्न सक्ने हो भने अरबमात्र होइन खरबौ रकम उठ्न सक्छ आफ्नै देशमा ।

सधै अविकसित भएर दयाको लागि याचक वन्दै कुहिराको काग वनि रुमल्लिनु पर्ने अवस्था आउँने छैन, र कसैको मुख ताक्न पर्ने अवस्था पनि आउनेछैन । हामीलाई चाहिने सडक संजाल, उद्योग धन्दा,कलकारखाना आदि सबै हाम्रै आफ्नै संकलित रकमले खुलाउन चलाउन मिल्नेछ र वास्तवमै हामी स्वावलम्बी सुखी र समृद्ध नेपाली हुनेछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here