अमेरिकी विश्वविद्यालयहरुले हुवावेसँग सहायता लिन छाडे

काठमाडौं, २२ चैत । अमेरिकाका उत्कृष्ट अनुसन्धान विश्वविद्यालयहरुले चिनियाँ टेक जायन्ट हुवावेसँग आर्थिक र प्राविधिक सहायता लिन छाडेका छन् ।

कम्पनीमाथि अमेरिकाले बैंक फ्रड र व्यापारमा बदमासी गरेको आरोप लगाएपछि विश्वविद्यालयहरुले सहायता लिन बन्द गरेका हुन् ।

अमेरिकाको प्रख्यात म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, प्रिन्सटन युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेले उनीहरुले कम्पनीबाट नयाँ सहयोग स्विकार नगर्ने बताएका छन् ।

अमेरिकाको आग्रहमा हुवावेकी प्रमुख वित्तीय अधिकारी तथा संस्थापक रेन जेङफेइकी छोरी मेङ वाङजुलाई गत डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो ।

हुवावेमाथि इरान विरुद्ध अमेरिकी प्रतिबन्धको उंल्लघन गरेको र बैंक फ्रड गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

अमेरिकी सरकारले साइबर सुरक्षाको कुरा उठाउँदै मुद्दा दायर गरिएपछि ती शैक्षिक संस्थाहरुले हुवावेसँग सहकार्य गर्न छोडेका हुन्

हुवावेबाट पछिल्लो ६ वर्षयता वित्तीय सहयोग प्राप्त गर्ने ९ अमेरिकी कलेजहरुमध्ये यी कलेजहरु पर्छन् । सबैले गरी करिब १० मिलियन डलर भन्दा बढी रकम हुवावेबाट सहायता प्राप्त गरेका थिए ।

एमआइटीले सन् २०१७ मा पाँच लाख डलर सहायता प्राप्त गरेको थियो । कलेजले बुधबार उनीहरुले अब हुवावेसँग कुनै नयाँ सम्झौता नगर्ने र पुरानालाई पनि नविकरण नगर्ने बताएको छ ।

बर्कले, प्रिन्सटन, कोर्नेल युनिभर्सिटी लगायतका शैक्षिक संस्थाले पनि हुवावेसँग सहायता नलिने घोषणा गरेका छन् ।

हुवावे विरुद्ध अमेरिकामा दुई वटा मुद्दा दायर गरिएको छ । न्यूयोर्कमा दायर गरिएको एउटा मुुद्दामा कम्पनीले इरानसँग व्यापार गर्नको लागि अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको र बैंक फ्रड गरेको आरोप लगाएको छ ।

त्यस्तै वासिङ्टन डिसीमा टि मोबाईलले दायर गरेको अर्को मुद्दामा हुवावेले आफ्नो प्रविधि चोरेको आरोप लगाइएको छ । हुवावेले भने दुवै मुद्दामा आफ्नो गल्ती नभएको बताउँदै आएको छ ।

अमेरिकी सरकारले यसअघि फेडेरल एजेन्सीहरुलाई साइबर सुरक्षाको जोखिम भएकाले हुवावे कम्पनीको कुनै पनि उपकरणहरु खरीद नगर्न निर्देशन दिएको थियो ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here