बैंकको खराब कर्जा बढ्यो, सरकारी बैंक अग्रपंक्तिमा

काठमाडौं, २ फागुन । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ ।

बैंकहरूले पुँजी वृद्धिको अनुपातमा नाफा गर्ने होडले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा ऋण उठाउन नसकेपछि खराब कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्ने हो भने सरकारी बैंक खराब कर्जा सूचीको अग्रपंक्तिमा देखिन्छ ।

धेरै खराब कर्जा हुने बैंकहरूमा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक अग्र पंक्तिमा छन् ।

निक्षेप संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ ।

यसले बैंकले नाफा कमाउने उद्देश्यले अन्धाधुन्ध ऋण प्रवाह गरेको तर, जारी भएको कर्जा समयमै अशुल्न नसकेको देखिन्छ ।

नेपाल बैंककाे खराब कर्जा २.६६ प्रतिशत रहेको छ । खराब कर्जा धेरै हुनेमा निजी क्षेत्रको लगानी रहेको प्रभु बैंक देखिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक चौथो नम्बरमा देखिन्छ । अर्को खराब कर्जा धेरै हुनेमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंक पाँचौ नम्बरमा देखिएको छ ।

चालू आवको दोस्रो त्रैमासमा खराब कर्जा धेरै हुने बैंकहरूमा प्रभु ३.१२, नेपाल इन्भेष्टमेन्ट २.९०, सिभिल २.६९, एनसीसी २.८२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महीनामा बैंकहरूको खराब कर्जा १.५४ प्रतिशत रहेको थियो । चालू आवको समीक्षा अवधिमा बैंकहरूको खराब कर्जा गत आवको तुलनामा ०.०९ प्रतिशतले बढेर औसतमा १.६३ प्रतिशत पुगेको छ ।

बैंकहरूबीच नाफा बढाउने अस्वभाविक होडले आक्रमक रूपमा कर्जा प्रवाह गर्नु, लगानी गरेको कर्जा समयमै अशुल्न नसक्नाले बैंकहरूको खराब कर्जा बढ्न जान्छ ।

बैंकिङ क्षेत्रमा लगातार बढेको ब्याजदरले समग्र अर्थतन्त्रलाई नै प्रभाव पारेकाले समयमै कर्जा नउठ्ने समस्या बढ्दै गएको हो ।

बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराबकर्जाको सूचीमा राख्नुपर्छ । जसलाई निस्क्रिय कर्जा वा खराब कर्जा (एनपीएल) भनिन्छ ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ ।

बैंकहरूले धितोमा राखेको सम्पत्ति लिलामीबाट केही रकम अशुल गर्ने भएपनि सबै कर्जाको धितो पर्याप्त नहुने अवस्था खराब कर्जा झनै बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here