शिक्षा र प्रविधिमा लगानी गरी पाँच दशकमै सुपरपावर बन्यो दक्षिण कोरिया

आज दक्षिण कोरियालाई विश्वकै ठूलो अर्थतन्त्रमध्ये एक मानिन्छ । अर्थतन्त्रको हिसाबले दक्षिण कोरिया एसियाको चौथो र विश्वको ११ औं स्थानमा रहेको छ । तर, विश्वव्यापी बजारमा यसको प्रभाव अझै ठूलो छ ।

दक्षिण कोरियामा यस्ता विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको मुख्यालय रहेको छ जसले विश्वकै उत्कृष्ट कम्पनीहरुसँग सिधा प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिकी बजारमा समेत कोरियामा उत्पादित अटोमोबाइलहरुको माग अत्याधिक छ ।

कोरियाली कम्पनीहरु सुचना र प्रविधिको क्षेत्रमा अझै अगाडि छन्, विशेषगरी मोबाईल उपकरणहरुमा । कोरियाली कम्पनी सामसुङलाई एप्पलको सबैभन्दा नजिकको प्रतिस्पर्धी मानिन्छ र स्मार्टफोन बजारमा यसको महत्वपूर्ण उपस्थिती रहेको छ ।

दक्षिण कोरियाको आर्थिक इतिहासको पृष्ठभूमीलाई नियाल्ने हो भने यी उपलब्धीहरु धेरै नै असाधारण लाग्छन् । पाँच दशकभन्दा अगाडि दक्षिण कोरिया विश्वकै गरीब देशको रुपमा चिनिन्थ्यो र त्यहाँ आर्थिक पुनरुत्थान हुने कल्पना पनि गरिँदैन थियो ।

त्यसो भए कोरिया त्यस्तो गएगुज्रेको स्थितीबाट उकासिएर अहिले विश्वै आर्थिक महाशक्तिको रुपमा कसरी उदायो त ? आज हामी यसबारेमा चर्चा गर्नेछौं ।

युद्धले बर्बाद गरेको अर्थतन्त्र

सन् १९४५ मा दक्षिण कोरियाले जापानी अधिनबाट स्वतन्त्रता पायो । यो देशको अर्थतन्त्र त्यतिखेरै दयनिय थियो ।त्यसपछि झनै सन् १९५० देखि १९५३ सम्म उत्तर कोरियासँग युद्ध भयो ।

यो युद्ध यती धेरै भयानक थियो कि दुवै पक्षको गरी करीब दशलाखको ज्यान गएको थियो । युद्धको कारण लाखौं घाइते भए भने ठूलो स्रोत खेर गयो । त्यतिखेर सम्म दक्षिण कोरिया धेरै दयनिय स्थितीमा पुगेको थियो ।

कोरियाको बजेटको ९० प्रतिशतसम्म हिस्सा विदेशी सहयोगमा चल्न थालको थियो । त्यतिखेर त्यहाँ सैन्य सरकार थियो र नागरिकका हक अधिकार कुण्ठित भएका थिए ।

यसरी गरे समृद्धिको सुरुवात

विदेशी सहयोगमा भर पर्ने हो भने कहिल्यै पनि समृद्ध हुन सकिँदैन भन्ने दक्षिण कोरियालीलाई राम्रोसँग थाहा थियो । उनीहरुले विदेशी लगानी जुटाएर देशमै उद्योगधन्दा सुरु गर्नुपर्छ भन्ने सोचे । तर, बाह्य देशहरु कोरियामा लगानी गर्न तयार भएनन् । पश्चिम जर्मनीलेमात्रै दक्षिण कोरियामा लगानी गर्न चासो देखायो ।

दक्षिणकोरियाले विस्तारै टेक्सटाइल, विग बनाउने जस्ता साना उद्योगहरुलाई प्रोत्साहन गयो । साना उद्योगहरुमा कोरियाले राम्रो प्रगती हासिल गर्न थाल्यो र केही उद्योगहरुमा त विश्व नेतृत्वकर्ता नै बन्न सफल भयो ।

यसले कोरियालाई दुईतर्फी फाइदा भयो किनभने यस्ता उद्योगमा प्रतिस्पर्धा थोरै थियो जसकारण उत्पादित वस्तुहरु निर्यात गरेर आम्दानी हुन थाल्यो भने यी उद्योगहरुको लागि धेरै श्रम आवश्यक भएकाले बेरोजगारी दर पनि घट्न थाल्यो ।

शिक्षा र प्रविधिमा लगानी 

त्यसपछि दक्षिण कोरियाले शिक्षामा धेरै लगानी गर्न थाल्यो । शिक्षामा गरिएको ठूलो लगानीले कोरियाको अर्थतन्त्रलाई तिव्र रुपमा समृद्धितर्फ डोर्याउन सक्ने प्रतिस्पर्धी जनशक्ति तयार हुन थाल्यो ।

साना उद्योगमा सफल भएपछि कोरियाले ठूला उद्योगमा पाइला राख्यो । उनीहरुले आफ्नो अर्थतन्त्रको केन्द्रमा उत्पादन क्षेत्रलाई राखे । उनीहरुले सबैभन्दा पहिले स्टिल मिलको लागि प्रस्ताव गर्दा कसैले पनि लगानी गर्न चाहेनन् ।

विश्व बैंकले पनि यो परियोजनामा लगानी गर्न चाहेन किनभने उनीहरुलाई यो परियोजना अनसफल हुन्छ भन्ने लागेको थियो ।

तर, कोरियाले आन्तरिक रुपमै पैसा जुटाएर परियोजना सुरु गर्यो र यो धेरै सफल भयो । केही वर्षमै कोरिया स्टिलको चौंथो ठूलो उत्पादक बन्न सफल भयो । स्टिलमा सफलतासँगै कोरियाली कम्पनीहरु यसमै आधारित पानीजहाज बनाउने, गाडी बनाउने, सुचना प्रविधि र इलेक्ट्रोनिक्स उत्पादनको क्षेत्रमा अगाडि बढे ।

अहिले दक्षिण कोरियाले आफ्नो उत्कृष्ट उत्पादनको सहयोगमा पश्चिमाहरुको जीवनलाई त सजिलो बनाइरहेको छ नै देशको अर्थतन्त्रलाई झनै सुदृढ बनाउँदै छ ।

पूर्वाधार विकासमा नयाँ मोडल

शहरी र ग्रामिण जनता बीचको अन्तरलाई जोड्ने पुलको काम गर्न कोरियाले ‘न्यू कम्युनिटी मुभमेन्ट’को अवधारणा ल्याएको छ । शहरी क्षेत्रका कोरियालीहरुको जीवनस्तर बढ्दै जाँदा ग्रामिण क्षेत्रमा भने अभाव र गरिबी थियो । त्यसलाई नै कम गर्न सरकारले ‘न्यू कम्युनिटी मुभमेन्ट’ ल्यायो ।

‘न्यू कम्युनिटी मुभमेन्ट’ अनुसार सरकारले निश्चित मात्रामा निर्माण सामग्री ग्रामिण क्षेत्रका नागरिकलाई प्रदान गर्छ र उनीहरुले आफ्नो श्रम उपयोग गरेर आफूलाई आवश्यक पूर्वाधारको निर्माण गर्न सक्छन् ।

जुन गाँउमा दिइएको निर्माण सामग्रीको राम्रो उपयोग भयो ती गाँउलाई झनै धेरै निमार्ण सामग्री प्रदान गरिन्छ । यो अभियानले दक्षिण कोरियामा पूर्वाधार निर्माणमा ठूलो फड्को मार्न सफल भयो ।

तर, बीचमा उसलाई अप्ठेरो स्थिती पनि नआएको होइन । सन् १९९७ को एसियाली संकटले दक्षिण कोरियाको अर्थतन्त्रलाई नमज्जाले धक्का दियो । फलस्वरुप कोरियाले अन्तराष्ट्रिय मुद्राकोषसँग ठूलो मात्रामा ऋण लिनुपर्यो तर मेहनती कोरियालीहरुले सन् २००४ सम्ममा सबै ऋण चुक्त गरे ।

दक्षिण कोरियाले पाँच दशकको छोटो अवधीमै अर्थतन्त्र र विकासमा ठूलो फड्को मारेको छ । यसक्रममा धेरै अरु देशलाई पछाडि पार्दै अगाडि बढीरहेको छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here