काठमाडौं, २५ फागुन । नेपालको अर्थतन्त्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको छ ।
कृषि, घरेलु कामलगायत समाज र समुदायमा हुने हरेक क्रियाकलापमा ज्यालाविहीन कार्यमा महिलाहरु सक्रियरुपमा नै रहेको पाइन्छ ।
कृषि, उद्योग, व्यापार व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार आदिमा पनि महिलाको सहभागिता उत्तिकै रहेको छ ।
महिलाको सहभागिता खासगरी साना र घरेलु उद्योग बढि मात्रामा रहेको देखिन्छ । ठूलाठूला उद्योगमा महिला सहभागिता नगन्य रुपमा नै रहेको पाइन्छ ।
अनौपचारिक क्षेत्र जस्तो महिला समूह, सामुदायिक वन, बाटो र सामाजिक कार्य, विवाह, व्रतबन्धलगायत धार्मिक क्रियाकलापमा महिला सहभागिताले उद्यमशीलताबाट आर्थिक उपार्जन गर्ने क्षेत्रमा समय अभावका कारण सहभागितामा स्वाभाविक कमी रहे पनि ससाना उद्योग भने महिलाले नै धानेका छन् ।
सरकारी तथ्यांकअनुसार मुलुकभर सञ्चालनमा रहेका व्यवसाय प्रतिष्ठानमध्ये २ लाख ४७ हजार ८ सय ८० महिलाले सञ्चालन गरिरहेका छन्।
त्यस्तै, म्यानेजर तहमा पुग्ने महिलाको संख्या २ लाख ७३ हजार ४ सय ३६ छ। केन्द्रीय तथ्यांक विभागले मुलुकमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना गर्दै असारमा उक्त तथ्यांक सार्वजनिक गरेको थियो।
जसअनुसार नेपालमा ९ लाख २३ हजार ३ सय ५३ प्रतिष्ठान छन्। तीमध्ये २९.६१ प्रतिशत प्रतिष्ठानमा महिला म्यानेजर भएको तथ्यांकमा उल्लेख छ।
सरकारले १५ लाख समूहमार्फत विनाधितो महिलालाई ऋण दिने निर्णय प्रक्रियाले महिलालाई आकर्षित त गरेको छ तर यसको कार्यान्वयन तल्लो निकायसम्म पुग्न सकेको देखिँदैन।
कुल जनसंख्यामध्ये पुरुषभन्दा महिलाको संख्या धेरै देखिन्छ। तर, व्यवसाय प्रतिष्ठानमा महिला कामदारको संख्या भने ३७.७ प्रतिशतमा सिमित देखिन्छ।
थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत जस्ता क्षेत्रमा महिला कामदार ११.५१ प्रतिशत छन्। त्यस्तै, शिक्षा क्षेत्रमा ६.८३ प्रतिशत, आवास सुविधा तथा खाना व्यवस्थापनमा ४.६३ प्रतिशत र औद्योगिक उत्पादनमा ४.११ प्रतिशत महिला कामदार छन्।
हाते कपडा बुनाइ र सिलाइ, ड्राई फुडलगायत अचार, ससजस्ता साना तथा घरेलु उद्योगमा महिलाको सहभागिता बढ्दो छ। सिलाईबुनाई, पेन्टिङ सम्वन्धी कामहरु, राडी पाखी उनि तथा गलैंचा बनाउने उद्योग खोल्नका लागि सस्तो व्याजमा ऋण पाइन्छ। त्यस्तै हस्तकला सम्वन्धी व्यवसाय गर्न, सुनचाँदी, तामा, पित्तलसम्वन्धीको कामका लागि ऋण पाइन्छ।
सेरामिक्स, पुतली तथा खेलौनासम्वन्धी व्यवसाय गर्न, धुप बत्ती बनाउन, चित्रकला तथा कागजका कामका लागि ऋण पाइन्छ। त्यस्तै चिया तथा खाजा पसल संचालन गर्न, टेम्पो वा ट्याक्सीका लागि, ठेलागाडाको पसल गर्न, स्टेसनरी तथा साइबर संचालन गर्न ऋण पाइन्छ।
तिबाहेक सबै कृषि कामका लागि महिलाहरुले यस्तो ऋण लिन सक्छन्। खाद्यान्न तथा अन्नबाली उत्पादनका लागि यस्तो ऋण परिचालन गर्न सकिन्छ। त्यस्तै चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले पनि यो ऋण लिन पाउँछन्।
लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेंडा, खुर्सानी, पिडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि ऋण लिन पाउँछन्।