चारदिन हिडेर सीमाक्षेत्रमा अलपत्र आठ दिनको सुत्केरीलाई उद्धार गर्दा… (फोटोफिचर)

पप्पु गुरुङ्ग

दोधारा, १६ चैत । कोरानाको त्रासले मातृभूमी फर्किएका अधिकांस नेपाली सीमाक्षेत्रमा अलपत्र परेको समाचार विभिन्न सञ्चार माध्यममा गुञ्जिदै थिए ।

कतिले नेपाल आउनको लागि पहल गरे भने कतिले आउन दिन हुन्न समेत भने । सबैलाई आफ्नै ज्यान प्यारो बनेरको समयमा एक नेपाली आफ्नो देश फर्किनको लागि कल्पना समेत गर्न नसकेको दुख भोग्नु परेको समाचार प्रथामिकतामा परेन ।

त्यसै मध्ये एक थिइन् काखमा ८ दिनको नानी च्यापेकी डोटीका २० वर्षीया रेखा कोली ।

उनि आठ दिनको सुत्केरी अवस्थामा नै चार दिन हिडेर माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल नजिक भारतको गडीगोड जंगलमा आईपुगेपनि सीमामा नै आएर अलपत्र अवस्थामा परिन् । उनि सँग अरु १५ जना महिला र पुरुषहरु रहेका थिए ।

त्यो समय रातीको झण्डै ९ बजेको समयमा सशस्त्र प्रहरीले उनिहरुलाई देख्यो । भारतको जंगलमा देखिएका ति नेपालीहरु जम्मा १६ जना थिए । उनिहरु झाँडीको छेउमा लुकेर नेपाल–भारतको सीमा क्षेत्रको अवस्थालाई नियाल्दै थिए ।

सशस्त्र प्रहरीले उनिहरुलाई आउन आग्रह गर्यो । उनिहरु डराई-डराई नेपाल प्रवेश गरे । सशस्त्र प्रहरीको टोलीले उनिहरुलाई नेपाली भाग तिर ल्याउन अहम भुमिका निर्वाह गर्यो ।

लामो हिडाई र भोक प्यासले उनिहरु ढल्ने अवस्थामा पुगेका थिए । कतीले त नेपालको भुमी खुट्टा राख्ने बित्तिकै सुतेर लामो श्वास लिए ।

म, पनि आफ्नो कार्यालयमा सामाजिक संजालमा माहाकाली नगरपालिकाको अवस्था र कोरोना भाइरसको तस्विरहरु पोष्ट गर्दै थिए । माहाकाली नगरपालिका स्थित रहेका सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक राम सिंह भण्डारीले मलाई फोन गरे ।

उनले पशुपती टोल नजिक रहेको अवस्थाको समान्य जानकारी गराउँदै आउन आग्रह गरे ।

म, लगाएत माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली र सनसेट युथ भोलेन्ट्रि ग्रुपका संयोजक रमेश भण्डारी पशुपती टोल तिर लाग्यौं ।

हामी पुग्दा पुग्दै करिब १० बजेको हुनुपर्छ । सशस्त्र प्रहरीका राम सिंह भण्डारीले अलपत्र परेका १६ जनालाई पानी र चाउचाउ दिदै थिए ।

सुरक्षाकर्मी संग माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट र झोलुगें पुल अस्थायी प्रहरी चौकीका ईन्चार्ज पनि रहेका थिए । भारतको मद्रासबाट आएका उनिहरुले बताए ।

लाल बहादु बिक, करन परियार, कृष्ण कोली, सर्ना बिक, नर बहादुर बिक, लक्ष्मण कोली, बिद्या कोली, सन्दीप कोली, रेखा कोली, शारदा बिक, ८ दिनको बच्चा, पदमा कोली, रोहित कोली, शिवराज कोली, रमेश बिसी रहेको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले मलाई टिपोट टिपाए ।

उनिहरु डोटी सिलगडी घर रहेको रहेछ् । उनिहरुको स्वास्थ्य अवस्था निकै नाजुक रहेको देखिन्थ्यो ।

उनिहरुको होठ पानी खान नपाएर सुकेका जस्तो मलाई लाग्यो । सशस्त्र प्रहरीले पानी दिदा उनिहरु पानी पिउनको हतारोमा झम्टनै आउने गरेका थिए ।

उनिहरुमा ४ जना बच्चा, ३ महिला र ९ पुरुष रहेका थिए । बच्चा पनि १० वर्षका मुनीका थिए ।

भारतबाट नेपाल भित्रिदै गर्दा बिभिन्न स्थानमा भारतिय सुरक्षाकर्मीले गरेको अमानविय ब्यवहार उनिहरुले भन्दै थिए ।

उनि भारतको मद्रासबाट बस सेवाबाट दिल्ली पुगेका थिए । २ दिन दिल्लीको गल्ली गल्लीहरुमा अलपत्र भोकै प्यासै भएपछि पैदलै हिडेरै भएपनि आफ्नो जन्मभुमी पुग्ने आँट गरेर पैदल यात्रा सुरु गरेको उनिहरुले बताए । ४ दिन लगाएर पैदल यात्रा गरेको पिडा सुनाए ।

उनिहरु बाटोमा जंगलका छेउमा रात बिताउदै आएका थिए । बाटोमा कुनै पसल समेत खुल्ला नहुँदा पानीको भरमा यात्रा जारी राखेका थिए । निकै दर्दनाक द्धश्य मैलै हेर्न पाए ।

रोजगारीको सिलसिलामा भारत पसेको झण्डै ३ वर्ष भएको र कारोना भाइरसको कारण फ्याक्ट्री बन्द भएपछि घरभेटीले कोठाबाट निकालेपछि घर फर्केन बाध्य भएको बताए ।

उनिहरुले गन्तब्य सम्म पुग्न सहयोग गर्न सुरक्षकर्मी र जनप्रतिनिधी संग अनुरोध गरेका थिए । काखमा ८ दिनको शरिरमा कपडा नभएको नानी च्यापेर आएका सुत्केरी आमा रेखा कोलीले समेत सबै संग रुदै घर सम्म पुगाउन ब्यवस्था गर्न आग्रह गरेका थिए ।

रेखा कोलीको अप्रेशन पछि बच्चा जन्मेको उनका श्रीमान लक्ष्मण कोलीले बताए । उनिहरुको खुट्टा सुन्नीएको थियो ।

त्यसै मध्य सुत्केरी आमाको अवस्था झनै दर्दनाक थियो । पैतलामा घाउका फोका देखिन्थे । बढो दर्दनाक द्धश्यले हामी संगै रहेको सुरक्षाकर्मी, जनप्रतिनिधीको मन बिझाएकै हो ।

उनिहरुको अवस्था निकै मर्महात थियो । सहन गर्न नसक्ने त्यो जस्तो पिडा मैलै देखेको थिएन् । सुत्केरी आमालाई सशस्त्र प्रहरीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले केही रकम समेत दिएका थिए ।

४ दिन सम्म भोक भोकै सुत्करी आमाको पिडा निकै दर्दनाक रहेको उनको अनुहारले छर्ल¨ देखाईरहेको थियो ।

सुत्केरी आमाको बोलाईको शब्द शब्दमा पिडानै झल्कन्थ्यो । ‘दुखको बेला चाहिने घरनै रहेछ’ उनि भन्दै थिए । उनि सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले महाकाली झोलुगे पुल सम्म पुर्याउदै गर्दा रातीको करिब ११: ३० बजेको थियो ।

हामी पनि सुरक्षाकर्मी तथा जनप्रतिनिधी संगै पुलमा पुगेका थिए । उनिहरुलाई सशस्त्र प्रहरीले पुल पारी टिप्परको ब्यवस्था गरि गड्डाचौकी स्वास्थ्य परिक्षणको लागी पठाउन तयारी जुटाउन थाल्यो । प्रहरीको ओकी टोकी मा ‘रोजर रोजर…’ को आवाज चल्दै रह्यो ।

त्यो सुनसान रातमा सबैले टर्च लाईट बालेर ८ दिनको बच्चा र सुत्केरी आमालाई हेर्दै जिब्रो टोक्दै रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here