नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, ३० चैत । विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गरेको छ ।

आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ ।

विश्व बैंकको प्रक्षेपण अनुसार चालू आर्थिक वर्षमा नेपालको घटीमा १.५ प्रतिशत र बढीमा २.८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुनेछ ।

सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।

यसअघि सामान्य अवस्थामा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान विश्व बैंकको थियो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको लिएको छ।

कोरोनाका कारण एक महिना अगाडि ५ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल हुने अनौपचारिक अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको थियो।

विश्व बैंकले कोरोना भाइरसको कारण लकडाउन गर्नुपरेको र यसले अर्थतन्त्रको स्थिति अझै खराब हुने जनाएको छ।

विश्व बैंकका अनुसार मुख्य गरी रेमिट्यान्समा आउने कमी, व्यापार, व्यवसाय, पर्यटनमा परेको प्रभाव, सीमा नाकामा हुने अवरोध लगायत कारणले आर्थिक वृद्धिमा कमी आउने छ ।

कोरोनाको असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा समेत कमी आउनाले अर्थतन्त्र प्रभावित हुने बैंकको भनाइ छ ।

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ । दक्षिण एशियाका माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रींलकाको आर्थिक वृद्धिदर नै ऋणत्मक हुने बैंकले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here