भोकमरीको जोखिम बढ्दै, २५ करोड भन्दा बढीले सामना गर्नुपर्ने

काठमाडौं, १० बैशाख । नोभेल कोरोना (कोभिड १९) नामक महामारी हिजोआज विश्वको समस्त मानवजातीको टाउको दुखाईको विषय बनेको छ ।

विश्व अहिले चाहेर नचाहेर कोरोना पीडित भएको छ र कोरोना भाइसर मानव जातीमाथि एकहोरो प्रहार गरीराखेको छ ।

यसको असरले विश्वमा बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर भोकमरीको उच्च जोखिम देखिएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो ।

सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ ।

विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको छ ।

सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसङ्ख्या १३ करोड ५० लाख रहेकोमा सन् २०२० मा यो सङ्ख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो ।

ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ ।

उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्तिचरम खाद्यान्न संकटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो ।

प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न सङ्कटको सामना गर्ने मानिसहरूको सङ्ख्या दुई करोड बढेको थियो । जुन यसअघिको तुलनामा निकै बढी हो ।

विश्व खाद्य संगठन र राष्ट्रसंघको खाद्यान्न तथा कृषि संगठनले उक्त रिपोर्टलाई मङ्गलबार नै राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । गत वर्ष र यसवर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान संकट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न संकट रहेको उल्लेख गरिएको छ ।

द्वन्द्व, आर्थिक सङ्कट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न सङ्कटमा वृद्धि आएको हो । प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसङ्ख्या खाद्यान्न संकटको समस्यानजिक रहेको देखिएको छ ।

कोरोना भाइरसको महामारी पूर्व पनि पूर्वी अफ्रिका र दक्षिण एसियाका देशहरुले खाद्यान्न अभावको गम्भीर संकट भोगेका थिए । यी क्षेत्रमा खडेरी तथा केही दशक यताकै सबैभन्दा ठूलो सलह महामारीका कारण खाद्यान्नको संकट उत्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here