भूकम्पपछिको पाँच वर्ष : कुन जिल्लामा कति बने निजी आवास ?

काठमाडौं, १२ बैशाख । नेपालमा विनासकारी भूकम्प आएको पाँच वर्ष पुरा भएको छ । २०७२ वैशाख १२ गते आएको विनासकारी भूकम्पबाट लाखौँ परिवार आवासविहीन बनेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त भएका पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्चभए पनि अझै तीन लाख ३२ हजार निजी आवास बन्न बाँकी रहेको छ ।

निजी आवास पुनर्निर्माण सुरु भएको पाँच वर्षमा अतिप्रभावित र कम प्रभावित गरी ३१ जिल्लामा आठ लाख २६ हजार ७६५ आवास छनोटमा परेका थिए ।

जसमा सात लाख ८१ हजार १७६ आवासका लागि अनुदान सम्झौता भएको थियो । तीमध्ये पाँच लाख ५० हजार ५९० आवासका लागि सबै किस्ताको अनुदान वितरण गरिएको प्राधिकरणले जनाएको छ ।

अतिप्रभावित १४ जिल्लाका सात लाख २३ हजार ३४८ आवासहरु पुनर्निर्माणका लागि छनौटमा परेका थिए । त्योमध्येका ६ लाख ८४ हजार ४३९ आवासको अनुदान सम्झौता भएको थियो । जसमा पहिलो किस्ता ६ लाख ८० हजार ९७५ आवासले पाएका थिए ।

दोस्रो किस्ता अनुदान पाएका पाँच लाख ७४ हजार ८८३ आवासले पाए भने पाँच लाख ३३४ आवासले तेस्रो किस्तासहित अनुदान पाइसकेका छन् ।

तर, अहिलेसम्म चार लाख ४५ हजार ७२६ आवास निर्माण भएका छन्, त्यसमा पनि ७८ हजार ७५९ आवासहरु मात्र निर्माण सम्पन्न भइसकेको प्रमाणपत्रसहित प्राप्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथ्याडक अनुसार सिन्धुपाल्चोकमा ६९ हजार निजी आवासमात्र निर्माण भएका छन् । भूकम्पपछि क्षति निर्क्योल गर्दा लाभग्राहीमा परेका ९० हजार निजी आवासमध्ये पाँच वर्ष बित्दा पनि २१ हजार आवास अलपत्रै परेका छन् ।

नुवाकोटमा अहिलेसम्म २९ हजार ५८५ वटा आवासले निर्माण सम्पन्नपछिको प्रमाणपत्र पाएका छन् । छनौटमा परेका ७७ हजार १०६ आवासमध्ये ७३ हजार १२४ आवासको अनुदान सम्झौता भएको थियो ।

त्योमध्ये पनि पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान पाएर पनि पाँच वर्षमा ६२ हजार ६५० आवासहरु निर्माण भएका छन् ।

धादिङमा ७९ हजार २९१ आवासमध्ये ७७ हजार ६२८ आवासहरु अनुदानको सूचीमा परेका थिए । भूकम्प गएको छैटौँ वर्ष सुरु हुँदा पनि ५२ हजार ९६१ आवासमात्र सम्पन्न भएको तथ्यांकले देखाएको छ ।

४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ ।

निजी आवास पुनर्निर्माणका क्रममा करिब ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कूल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन्।

१ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन्। यस्तै ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन्।

कूल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ४९ वटा पुनर्निर्माणको चरणमा छन्। तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here