सेयर बजारमा ‘ग्राहम–बफेट्स भिले’ को लगानी  सुत्र

के तपाईं सेयर बजारमा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ ? सेयर बजारमा सफल लगानी र राम्रो प्रतिफलका लागि अमेरिकी धनाड्य वारेन बफेट र उनका गुरु बेञ्जामिन ग्राहमले अपनाएको विधि तपाईंलाई काम लाग्न सक्छ ।

यस विधिले सेयरको मूल्य ‘बूक भ्यालू’ (रेसियो) भन्दा पनि कम भएका अर्थात् ‘भ्यालू स्टक’ नभएका कम्पनीलाई छानेर हटाउने र ‘बुक भ्यालु’ भन्दा अधिक मूल्य भएका कम्पनीलाई लगानीका लागि उपयुक्त कम्पनीको रूपमा छुट्ट्याउने मद्दत गर्छ । हाल यो सेयर बजार बढिरहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई ‘ग्राहम–बफेट्स भिले’ सुत्र उपयुक्त हुन सक्छ ।

यो विधि अनुसार निम्न छनोट प्रक्रिया अपनाएर राम्रो प्रतिफल दिने कम्पनीको सूची निर्माण गर्न सकिन्छ ।

चरण १ः पहिले लगानीका लागि सम्भाव्य कम्पनीको सूचीबाट वार्षिक विक्री २ अर्ब ५० करोड रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई छानेर हटाउनुपर्छ । उक्त रकम भन्दा कम विक्री भएका कम्पनी सेयर लगानीका दृष्टिकोणले साह्रै साना कम्पनी हुन् (नेपालको सन्दर्भमा उल्लिखित कारोबारको सीमा कम राख्न सकिन्छ) ।

त्यस्ता कम्पनीमा सुरक्षित लगानीका लागि आवश्यक व्यावसायिक स्थायित्व तथा वित्तीय पहुँच नहुन सक्छ । त्यसैले, कम्तीमा पनि विक्री २ अर्ब वा सोभन्दा बढी भएका कम्पनीहरूलाई सूचीमा समावेश गर्नु उत्तम हुन्छ ।

चरण २ः ऋणभन्दा इक्विटी ३० प्रतिशतभन्दा बढी भएका कम्पनीलाई सूचीमा कायम गर्ने र अरूलाई हटाउने । इक्विटीको तुलनामा ऋण कम भएका कम्पनीहरू सुरक्षित हुन्छन् ।

चरण ३ः इन्ट्रेष्ट कभरेज अनुपात ४ भन्दा कम भएका सबै कम्पनीलाई सूचीबाट हटाउने । उच्च इन्ट्रेष्ट कभरेज अनुपात भएका कम्पनीहरू सुरक्षित र लगानीका लागि उत्तम हुन्छन् ।

चरण ४ः इक्विटीको प्रतिफल १५ प्रतिशतभन्दा न्यून भएका पूँजीको लागतभन्दा आय न्यून रहेका कम्पनीलाई सूचीबाट हटाउने ।

चरण ५ः सेयरको चालू मूल्य र प्रतिसेयर वार्षिक आयको अनुपात २५ भन्दा बढी भएका कम्पनीलाई पनि सूचीबाट हटाउनु राम्रो हुन्छ । त्यस्ता कम्पनीको सेयर निकै महँगो हुन्छ ।

अब सूचीमा बाँकी रहेका कम्पनीको छुट्टाछुट्टै मूल्याङ्कन गर्नुपर्दछ । बाँकी रहेका कम्पनीको सूची धेरै लामो भएमा छनोट प्रक्रियालाई अझै कडा बनाएर सूचीलाई छोट्याउन पनि सकिन्छ । वार्षिक विक्री ५ अर्ब रुपैयाँ वा त्यसभन्दा अधिक भएका कम्पनीलाई मात्रै छान्न पनि सकिन्छ ।

ऋण शुन्य कम्पनी, इक्विटीको प्रतिफल २० भन्दा बढी भएका, मूल्य तथा आय (प्राइस अर्निङ रेसियो–पीई) अनुपात २० भन्दा कम र ‘प्राइस टु बुक’ मूल्य १.५ भन्दा कम भएका कम्पनीको लगानी अधिकतम लाभदायी हुन्छ ।

सूचीमा बाँकी रहेका हरेक कम्पनीको वार्षिक प्रतिवेदन र कर्पाेरेट प्रोफाइल अध्ययन गरेर सेयर लगानीका लागि उपयुक्त कम्पनी छनोट गर्नु नै बुद्धिमानी ठहर्छ ।

छनोट पछि सूचीमा रहेका कम्पनीको व्यवसायीक आधार, उत्पादन वा सेवाको प्रकार, प्राथमिक आम्दानीको आकार, उत्पादन वा सेवा विक्री गर्ने क्षेत्र वा भौगोलिक उपस्थिति, खरीद गर्ने ग्राहक वर्ग र किन खरीद गर्छन् भन्ने जस्ता विषयमा केन्द्रित भएर प्रडक्ट कष्टुमर मिक्स, व्यवसायको मोडलका साथै मार्जिन र लाभका उत्प्रेरकहरू के–के हुन् भन्ने जस्ता कुरा बुझ्न सकिन्छ ।

यसरी कम्पनीको बजार हिस्सा र प्रतिस्पर्धात्मक क्षमताको समेत आकलन गर्न सकिन्छ । विगत केही वर्षको विक्री र मुनाफाको प्रवृत्ति हेरेर कम्पनी राम्रो आर्थिक अवस्थामा छ/छैन पत्ता लगाउनुपर्छ ।

यसले कम्पनीको सेयरको अनुमानित विक्री र आयको अनुमान गर्न मद्दत पुग्छ । यस्ता विधि अपनाएर सेयरको आन्तरिक मूल्यको अनुमान गर्न र सो कम्पनीको सेयर उल्लेख्य छुटमा उपलब्ध छ/छैन थाहा पाउन सकिन्छ ।

ग्राहमका अनुसार यस्ता १० देखि १५ ओटा कम्पनी छानेर १ वर्षभन्दा बढी समयका लागि लगानी गर्ने हो भने त्यसले सन्तोषजनक प्रतिफल दिने निश्चित हुन्छ ।

(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here