पुनर्कर्जामा साना उद्यामीलाई प्राथमिकता, के छ पुनर्कर्जा कार्यविधिमा ?

काठमाडौं, २० जेठ । साना उद्यमीलाई लक्ष्यित गरी राष्ट्र बैंकले विद्यमान पुनर्कर्जा कार्यविधि परिमार्जन गरेको छ ।

परिमार्जित कार्यविधिको मस्यौदा सुझाबका लागि राष्ट्र बैंकको वेवसाइटमा राखिएको छ । सुझाबका लागि १५ दिनको समय दिइएको छ ।

सो अवधिमा प्राप्त सुझाबका आधारमा अन्तिम कार्यविधि बनाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्रावधान अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ ।

अब १ वर्षका लागि बैंकहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाइनेछ ।

उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा वर्गिकरण गरिएको छ ।

सो कर्जाबापत बैंकहरुले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन् । राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण उपलब्ध गराउनेछ ।

त्यस्तै, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ ।

विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ । यस्तो ऋण राष्ट्र बैंकले बैंकहरुलाई क्रमशः १ प्रतिशत र ३ प्रतिशत उपलब्ध गराउनेछ ।

मस्यौदामा कुल पुनर्कर्जा रकमको ७० प्रतिशत सिधै बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिन्छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकिदिएको क्षेत्र तथा मापदण्ड पुगेका ऋणी छनोट गरी कर्जा प्रवाह गर्नेछन् ।

बैंक तथा वित्तीय संस्थालाई दिएर बाँकी रहेको कोषको ३० प्रतिशत रकम भने राष्ट्र बैंकले हालकै व्यवस्था अनुसार परिचान गर्ने छ । उक्त ३० प्रतिशत रकमबाट बढिमा कुल कोषको १० प्रतिशत रकम राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट प्रदान गर्ने प्रस्ताब गरेको छ ।

कोषको ३० प्रतिशत रकम राष्ट्रिय महत्व तथा प्राथमिकताको आयोजना क्षेत्रमा राष्ट्र बैंकले परिचालन गर्नेछ । यसरी पुनर्कर्जा प्रवाह गर्दा प्रतिग्राहक २० करोड भन्दा बढी दिन पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here