धानको बीउ दोब्बर बिक्री

काठमाडौं, २० जेठ । चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री गरेको छ ।

गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो ।

विश्वविद्यालयले यस वर्षदेखि आफ्नै ‘लोगो’ र ब्राण्डसहित प्याकिङ बीउको बिक्री सुरु गरेको विश्वविद्यालयका प्रध्यापक मुकेशकुमार सिंहले जानकारी दिए ।

कोभिड–१९ को जोखिमका कारण कृषकसँग बीउ पुग्‍ने सम्भावना कम रहे पनि धानको बीउ खरिद गर्न कृषक विश्वविद्यालय पुगेपछि यो समस्या हटेको हो ।

विश्वविद्यालयले जिल्लाका कृषि समूहलाई एकमुष्ट बीउ उपलब्ध गराएर कृषकसम्म सहजरूपमा बीउ पठाउने गरेको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा ल्याएको गिरावटलाई कृषि क्रान्तिमार्फत् माथि उठाउन सकिने भएकाले एक महिना अगाडिबाट बीउ वितरण गरिएको प्रध्यापक सिंहले जानकारी दिए । यसअघि विश्वविद्यालयले धानको बीउ उत्पादन गरेर अन्य कम्पनीलाई दिने गरेको थियो ।

प्रध्यापक सिंहका अनुसार विद्यालयले आफ्नै प्रशोधन केन्द्र र परीक्षण प्रयोगशाला स्थापना गरेपछि बीउ उत्पादन र बिक्रीमा वृद्धि भएको हो ।

असारे धानको बीउका लागि उन्नत जातको राम र सावित्री धानको बीउ वितरण गरिएको छ । धानको बीउपछि अब मकै र गहुँको बीउ पनि प्रशोधन एवं परीक्षणको तयारीमा रहेको प्रध्यापक सिंहले बताए । यसबाट विश्वविद्यालयको आम्दानीमा समेत वृद्धि हुने उनको भनाइ छ ।

“विश्वविद्यालयको लोगोसहित बीउ बजारमा आएपछि कृषक उत्साहित छन्”, उनले भने, “बन्दाबन्दीको समयमा पनि ठूलो परिमाणमा धानको बीउ वितरण गर्नु खुसीको कुरा हो । कृषकले अब बीउ नपाउने समस्या हुँदैन ।”

बीउमा आत्मनिर्भर बन्न नेपाल सरकारले फार्मलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । नेपाल सरकारबाट थप सहयोग पाउन सके बीउ उत्पादन क्षमतालाई वृद्धि गर्न सकिने प्रध्यापक सिंह बताउँछन् ।

विश्वविद्यालयले मूल बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग लिएर आफ्नो फार्ममा स्रोत बीउ उत्पादन गर्दै आएको छ । विश्वविद्यालयले करिब ९५ बिघाभन्दा बढी क्षेत्रफलमा बीउका लागि खेती गर्दै आइरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here